close

पर्यटकीय गन्तव्य उदयपुरगढीमा सडक र खानेपानी अभाव

पर्यटकीय गन्तव्य उदयपुरगढीमा सडक र खानेपानी अभाव

Trulli
ADVERTISEMENT

उदयपुर–  सरकारले देशभरका १ सय पर्यटकीय गन्तव्य घोषणा गर्ने क्रममा परेको उदयपुरगढी खानेपानी र सडक अभावका कारण ओझेल पर्दै गएको छ । सरकारले ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको उदयपुरगढीलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले १ सय गन्तव्यभित्र समेटेको थियो ।

 

उदयपुरगढीलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले गन्तव्य घोषणा गरिएको लामो समय बितिसक्दासमेत त्यहाँ पुग्ने सडक स्तरोन्नति नहुँदा घोषणामै सीमित हुन पुगेको हो । नेपालटार बजारको मदन भण्डारी लोकमार्गदेखि ९ किलोमिटर दूरीमा रहेको उदयपुरगढीसम्म जाने सडकको स्तरोन्नति नहुँदा आन्तरिक तथा बाह्य पर्यटक आउन सकेका छैनन् । 

 

सडक स्तरोन्नतिका लागि प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत १ चैत ०७७ मा समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालय र उदयपुरगढी गाउँपालिकाबीच ९ किलोमिटर सडक स्तरोउन्नति अर्थात् कालोपत्रे गर्ने समझदारी भएको हो ।

 

तीन वटै तहको लागत सहभागितामा निर्माण गर्ने गरी समझदारीमा हस्ताक्षर भएको उदयपुरगढीका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिए । नेपालटार देखि उदयपुरगढीको केन्द्र उदयपुरगढीसम्म ९ किलोमिटर सडक कालोपत्रे गर्न करिब २७ करोड रुपैयाँ अनुमानित लागत तयार गरिएको थियो । यसमध्ये गाउँपालिकाले २ करोड विनियोजन गरिसकेको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताए ।

 

त्रिपक्षीय समझदारीमा हस्ताक्षर भएबमोजिम तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा नेपालटारदेखि उदयपुरगढीसम्म कालोपत्रे गर्ने योजना समावेश भएको थियो । ओली सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पछिल्लो सरकारले पुरक बजेट ल्याउने क्रममा नेपालटारदेखि उदयपुरगढीसम्मको कालोपत्रे गर्ने योजना काटिएको छ । सरकारले चार वर्षअघि नै आर्थिक वर्ष ०७८÷७९ सम्ममा सबै गाउँपालिका केन्द्रसम्म पुग्ने सडक उतरोन्नति गरी कालोपत्रे गरिसक्ने योजना अघि सारेको थियो ।

 

उदयपुरगढीको इतिहास पुनजीर्वन गर्दै तत्कालीन अवस्था झल्कने गरी पर्यटन केन्द्र बनाउन गाउँपालिकाले काम सुरु गरेको उनको भनाइ छ । तत्कालीन २२ से २४ से राज्यमा हाल चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ मा पर्ने चौदण्डीगढी राज्यको सहायक मुकाम बनाएर राखिएको ठाउँ हो, उदयपुरगढी । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा उदयपुरगढी कब्जा गरेर युद्धपोत स्थापना गरेको इतिहास रहेको स्थानीय बोधकुमार घिमिरे बताउँछन । 

 

यहाँ ०२८ मै कच्ची सडक पुगिसके पनि सोही वर्ष त्यहाँको सदरमुकाम गाईघाट सारेपछि बिरानो बन्दै गएर गढी भग्नावेशषमा मात्र सीमित हुन पुगेको थियो । ‘चारैतिरको भूभाग हेर्न, हिमाली र तराईका दृश्य देख्न पाइने ठाउँ गर्मीयाममा चिसो र शितल हुने हुँदा पर्यटकको रोजाइमा पर्दै आएको छ’, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले भने ।

 

२०२८ मा गाईघाट सदरमुकाम सार्नुअघि जिल्लाको प्रशासनिक र राजनीतिक केन्द्र रहेको उदयपुरगढीमा पञ्चावती मन्दिर, १०० वर्षअघिका पुराना वरपीपलका चौतारी, विभिन्न संरचना पुनर्निर्माण गरिएका छन् । सदरमुकाम सरेपछि सो स्थानका बासिन्दाको बसाइँ सर्ने क्रमसँगै विरानो बन्दै गएको गढी क्षेत्रलाई हाल सामान्य बस्तीबाहेक जंगल र वनस्पतिले ढाक्दै गएको छ ।

 

गाउँपालिका अध्यक्ष मगरका अनुसार नेपाल भ्रमण वर्ष सन् २०२० मा उदयपुरगढी देशभरका १ सय प्रमुख गन्तव्यमा छनोट भएको थियो ।उदयपुरगढी गाउँपालिकाको वडा नम्बर ५ मा रहेको झन्डै २ सय ५० वर्षअघिको पुरानो गढीको भग्नावशेषलाई पुनर्जीवन दिने काम धमाधम भइरहेको छ । पुरानो गढी, तत्कालीन सैनिक बंकर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनाको भग्नावशेषका संरचनासहित पुनर्निर्माण गरिने उनले बताए । 

 

गाउँपालिका मुकामदेखि १ किलोमिटर उत्तर–पश्चिममा रहेको पुरानो गढीको पुनर्संरचनापछि पर्यटक आकर्षण बढ्ने आस पलाएको अध्यक्ष मगरको भनाइ छ । तर, यहाँसम्म आउने सडकको उतरोन्नति र खानेपानीको दीर्घकालीन समस्यालाई समाधान गर्न नसक्दा आन्तरिक पर्यटकसमेत आउन छाडेको अध्यक्ष मगरले जानकारी दिए ।


सुनसान रहेको उदयपुरगढी स्थानीय तह निर्वाचनसँगै पुनः गुल्जार बन्दै गएको छ । गाउँपालिका केन्द्र बनेसँगै ऐतिहासिक गढीको इतिहासलाई पुनर्जीवन दिन जनप्रतिनिधि र स्थानीय अगुवाले ऐतिहासिक पुरानो गढीको पुनर्संरचना थालेका हुन् । पुरानो गढीको पुनर्निर्माण गर्दा ५ सय मिटर व्यासको कम्पाउन्ड घेराबार, बाहिरपट्टि १ सय ३० मिटर लामो र ६ फिट अग्लो तथा भित्र १४ फिट उचाइको १ सय मिटर लामो गारो लगाइएको छ ।