close

महाकाली करिडोर : दार्चुला–टिंकर सडकमा ७५० मिटर ट्रयाक खुलाइयो

महाकाली करिडोर : दार्चुला–टिंकर सडकमा ७५० मिटर ट्रयाक खुलाइयो

Trulli
ADVERTISEMENT

दार्चुला–महाकाली करिडोरअन्तर्गत दार्चुला–टिंकर सडकमा ७५० मिटर ट्रयाक खुलेको छ ।सरकारले नेपाली सेनालाई ७५ किमि ट्रयाक खोल्न जिम्मेवारी दिएकोमा गत मंसिर मसान्तसम्म ४ मिटर चौडाइको सो सडक खुलाइएको हो । महाकाली नदी किनारै किनार र केही भित्री भाग हुँदै निर्माण हुने सो सडक निर्माणले स्थानीयको जनजीवन सजिलो हुने अपेक्षा गरिएको छ । गत वर्ष १४ वैशाखको मन्त्रिपरिषद् निर्णयानुसार कोठेघर–टिंकर सडक सेनालाई दिएको थियो । 

 


सुरुमा लम्बाइ ८७ किमि रहेकामा सर्वेक्षणपछि ७५ किमि मात्रै भएको सेनाको विकास निर्माण निर्देशनालयका प्राविधिक सहायक रथी कमलविक्रम शाहले बताए । सेनाले गत २८ माघमा क्याम्प निर्माण गरेको थियो । दार्चुला सदरमुकाम खलंगाबाट ४० किमिमाथि सुनसरा र ६० किमिमाथि पर्ने दुम्लिङमा क्याम्प निर्माण भइसकेको निर्देशनालयले जानकारी दिएको छ ।

 

कोठेधारदेखि दुम्लिङसम्म पाँच ठाउँमा ‘कम्प्रसशर मेसिन’ प्रयोग गरी सडक खोल्ने काम भइरहेको प्राविधिक सहायक रथी शाहले बताए । यी ठाउँमा माल गाउँमा दुई, सक्नेरीमा एक, फुल्सिङमा एक र दुम्लिङमा एक क्याम्प रहेको छ । सडक रेखांकन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ब्लास्टिङ गर्दा ढुंगाको टुक्रा सीमापारि जाँदा समस्या भइरहेको उनले बताए । कूटनीतिक रूपमा समन्वय गर्दा निर्माण अघि बढाउन सजिलो हुने उनको भनाइ छ । दार्चुला–टिंकर सडकमा पर्ने सुनसेरादेखि कोठेधार ७ किमि सडक विभागबाट निर्माण भइरहेको थियो । 

 

सडक विभागले ठेक्कामार्फत ट्रयाक खुलाउन सुरु गरेकामा अहिलेसम्म तुसारपानीसम्म मात्रै ट्रयाक खोलिएको छ । ३ किमि ट्रयाक खोलिएकामा बाँकी ४ किमि सडकको ट्रयाक खोल्न सेनालाई जिम्मा दिँदा काम चाँडो गर्न सकिने प्राविधिक सहायक रथी शाहले बताए । 

 

तुसारपानीबाट कोठेधारसम्मको खण्डमा ट्रयाक खोल्न बाँकी हुँदा सेनालाई आवश्यक सामग्री र बन्दोबस्तीका सामान ढुवानीमा गाह्रो भएको छ । उनले भने, ‘दार्चुला–टिंकर सडक भौगोलिक रूपमा विकट र कठिन भूबनोटका कारण निर्माण सामग्रीको उपलब्धता र ढुवानी गर्न गाह्रो भएको छ ।’ 

 

चालू आवमा सो योजनाको बजेट २२ करोड ५० लाख रुपैयाँ थियो । चालू आवमै दार्चुला व्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने छांगरुमा क्याम्प स्थापना गर्ने लक्ष्य सेनाको छ । चालू आवभित्रै ७ किमि नयाँ ट्रयाक खाल्ने लक्ष्य लिइएको छ । ४ मिटर चौडाइको ३ किमि र ६ मिटर लम्बाइको ४ किमि ट्रयाक खोल्ने लक्ष्य लिइएको छ । उनले भने, ‘सोहीअनुसार काम भइरहेको छ ।’

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले ब्रह्मदेवदेखि टिंकरसम्म ४२५ किमि सडकमध्ये ८७ किमि सेनालाई दिइएको बताए । सेनाले काम गरिरहेको बाहेक बाँकी खण्डमा विभागले ठेक्कामार्फत सडक निर्माण अघि बढाइएको छ । विभागले निर्माण गरिरहेको सडक सेनालाई ८७ किमि काम गर्न पनि पहुँचमार्ग भएको र अहिलेसम्म त्यो नसकिँदा सेनालाई काममा बाधा पुगेको उनले बताए । 

 

सेना आफंैले ट्रयाक खोल्दा चाँडो हुने भएकाले अहिले ठेक्का तोडेर सेनालाई जिम्मेवारी दिन लागिएको छ । उनले भने, ‘मेरो टेबुलसम्म फाइल आइपुगेको छ, अब सेनालाई नै जिम्मेवारी दिने गरी निर्णय हुनेछ ।’ यो सडकमा निर्माणका क्रममा बजेट अभाव हुन नदिइने सचिव श्रेष्ठले जानकारी दिए । सडक सकेसम्म सरकारको योजनाअनुसार नै चौडाइ कायम गराउनुपर्नेमा उनको जोड छ । 

 

सडक विभागले कम्तीमा ७ मिटर चौडाइ बनाएपछि सेनाले निर्माण गरिरहेका सडकमा चौडाइ कम रहेको पाइन्छ । सेनाले सडक निर्माण सकाएर गाडी गुड्न थालेपछि विस्तार यातायात अवरुद्ध गर्नुपर्ने हुँदा गाह्रो हुने उनले बताए । उनले भने, ‘सेनाले नै ट्रर्याक खोलेका ५/६ मिटर चौडाइमा अहिले विभागले ७ मिटरमा विस्तार गरिरहेको छ ।’