close

बाल्यकालमा कुपोषित सुनमाया अल्ट्रा रेसमा संसार जित्दै

बाल्यकालमा कुपोषित सुनमाया अल्ट्रा रेसमा संसार जित्दै

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ की सुनमाया बुढा एथलेटिक्स खेलाडी हुन् । उनी अहिले अल्ट्रा रेसमा संसार जित्ने सपना बुन्दै छिन् । विपन्न घरपरिवारमा जन्मेकी सुनमायाले थाइल्यान्डमा ११० किलोमिटर लामो दौड जितिन् ।

 

उनका बाल्यकाल निकै दुःखमय थिए । १ छोरा र ७ छोरीमध्ये सुनमाया पाँचौँ सन्तान हुन् । एक वर्षमै बहिनी जन्मिएपछि सुनमायालाई स्याहार पुगेन । आमाको दूध पनि राम्रोसँग चुस्न पाइनन् । विस्तारै दुब्लाउँदै जान थालिन् । उनी भन्छिन्, ‘गाउँका मान्छे सुनमायालाई कुपोषण लाग्यो भन्थे । जुम्ला सदरमुकामबाट ४ घन्टा पैदल दूरीको पातारासीमा अस्पताल थिएन । 

 

त्यतिबेला अहिलेजस्तो सडक थिएन । सवारीसाधन चल्दैन थिए । खेती किसानी गर्ने सामान्य परिवारले छोरीलाई उपचारका निम्ति सदरमुकाम लैजाने आँट पनि गर्न सकेन । छोरी ओछ्यान परेपछि पिरले थलिएकी उनकी आमाले घरेलु उपचारको उपाय लगाउन थालिन् । त्यसपछि हिमाली जुडीबुटीले विस्तारै काम ग¥यो । सुनमाया ८–९ महिनापछि तंग्रिन थालिन् ।

 

आमाबुबाले समेत माया मारेकी सुनमाया बाँच्छिन् भन्ने छिमेकीलाई पनि आस थिएन । मरीमरी बाँचेकी उनी आफ्नो परिवार र गाउँकै उदाहरण बनेकी छन् । बाल्यकालदेखि नै बाँच्ने संघर्ष गर्दै हुर्केकी सुनमाया अहिले परिवारका लागि मात्र होइन, देशकै हिरो बनेर संसारमा चम्किरहेकी छन् ।


२ साताअघि थाइल्यान्डको चाङ माईमा भएको थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा दौडमा उनी महिलातर्फ पहिलो भइन् । उनले ११० किलोमिटर दौडतर्फ पुरुष खेलाडीलाई समेत टक्कर दिएकी थिइन् । अल्ट्रातर्फकै ठूलोमध्ये एक युटिएमबी दौडमा पुरुष र महिलातर्फ समग्र नतिजामा तेस्रो भएर देशकै इज्जत राखिन् ।

 


थाइल्यान्डको चाङ माई क्षेत्रको भीरपाखा र डाँडाको ५४८० मिटरसम्मको उचाइमा नर्थफेस टिमबाट दौडिएकी सुनमाया दोस्रो भएका फ्रान्सका सेड्रिक गोलियाभन्दा ४ सेकेन्डले मात्र पछि परेकी थिइन् । सुनमायाले यो दौड १४ घन्टा ५४ मिनेट १ सेकेन्डमा पार गरेकी थिइन् । बिहान ८ बजे सुरु दौड उनले बेलुकी ११ बज्न लाग्दा पूरा गरेकी थिइन् । दोस्रो स्थानमा नेपालकै मीरा राई परिन् । मीराले १७ घन्टा १२ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।


प्रतिष्ठित थाइल्यान्ड बाई युटिएमबी जितेपछि अन्तर्राष्ट्रिय चर्चा पाइरहेकी २३ वर्षीया सुनमायाले अल्ट्रा धाविका बन्छु भनेर कहिल्यै सोचेकी थिइनन् । उनका लागि जुम्ला सदरमुकाम र सुर्खेत पुग्नु नै ठूलो कुरा थियो । काठमाडौं अनि विदेश त उनको सपनामा समेत आउँदैन थिए । बाल्यकालमा कुपोषणलाई जितेकी सुनमायाले दोस्रो लडाइँ कर्णालीको सामाजिक परिवेशसँग लड्नुप¥यो ।


उनका दिदीहरूले स्कुल जाने अवसर कहिल्यै पाएनन् । मरेर बाँचेकी भएर होला, आमाबुबाले आफ्नो पाँचौँ सन्तान सुनमायालाई स्कुल पठाए । त्यही स्कुल उनका लागि कर्णालीको सामाजिक परिवेशसँग लड्ने र भविष्यको सपना देख्ने पहिलो मैदान बन्यो । उनी ७ कक्षा पढ्दा स्कुलस्तरीय खेल भयो । सबैले सुनमायालाई भाग लिन उक्साए । लहैलहैमा भाग लिएकी उनी पहिलो भइन् । त्यही बेला हो, उनलाई दौडबारे पहिलो पटक थाहा भएको ।


विद्यालयका प्रधानाध्यापकले सुनमाया अब तिमी बजारमा पनि कुद्न जानुपर्छ । त्यहाँ ३० भन्दा बढी स्कुलका विद्यार्थी आउँछन्,’ प्रधानाध्यापकको आग्रह सुनमायालाई अहिले पनि मनमस्तिष्कमा ताजै छ । त्यतिबेला उनी प्रतियोगितामा जिल्लाकै पहिलो भइन् । यो जितसँगै क्षेत्रीय छनोट खेल्न नेपालगन्ज जानुपर्ने भयो । विकट गाउँबस्तीमा हुर्केकी उनी पहिलो पटक नेपालगन्ज सहर पुग्दा आत्तिएकी थिइन् । नेपालगन्जमा पनि पहिलो हुँदै उनी राष्ट्रिय स्तरमा छनोट भइन् ।


काठमाडौमा सबैलाई उछिन्दै १४ वर्ष उमेरमा राष्ट्रपति रनिङ सिल्ड जितिन् । जिल्ला, क्षेत्र हुँदै देशकै जुनियर च्याम्पियन बनेपछि उनको गाउँभरि चर्चा चुलियो । स्कुलले ५ हजार रुपैयाँ पुरस्कार दिएपछि उनको खुसीको सीमा रहेन । राष्ट्रपति रनिङ सिल्ड जितेपछि सुनमायाले अन्य प्रतियोगितामा भाग लिन थालिन् । जितको यात्रामा ब्रेक लागेन ।


३ वर्ष जुनियर स्तरको प्रतियोगितामा चर्चा बटुलेकी सुनमायाले १६ वर्ष उमेरमा एसएलसी पास गरिन् । जुम्ला बजारमा ओलम्पियन धावक हरिबहादुर रोकायाले प्रशिक्षण दिने उनलाई थाहा थियो । त्यसैले सुरुमै रोकायालाई भेटिन् । दौडको प्रशिक्षण लिन चाहेको तर घरमा बिहेको प्रस्ताव आएकाले ढाँटेर आएको प्रशिक्षक रोकायालाई सुनाइन् ।


जुम्लाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिरहेका रोकायालाई सुनमायाको कुराले मुटु छोयो । उनले आफ्नै घरमा बस्न कोठा दिए अनि कर्णाली स्पोर्ट्स क्लबमा भर्ना गराए । छोरी पढ्छु भन्दै घरबाट हिँडेपछि आमाबुबाको मन के थामिन्थ्यो ! दुई दिनपछि बुबा आफैं बजार आएर सुनमायालाई चाहिने सामान किनिदिए ।


उनी बिहान प्लस टु पढ्न थालिन् । दिउँसो अभ्यास गर्थिन् । बिहानको पढाइ र दिउँसोको अभ्यासले निकै थाक्थिन् । प्रशिक्षकले कडा अभ्यास गराउँथे । पढ्न आएकी छोरी दौडको मात्र अभ्यास गर्छिन् भन्ने घरमा थाहा थिएन । घरलाई थाहै नदिई उनी धरानमा भएको १० किलोमिटर दौडमा भाग लिन गइन् र तेस्रो भइन् ।

 

रोकायाले सुनमायाको क्षमता पहिचान गरिसकेका थिए । उनले १० किलोमिटर हुँदै ४२ किलोमिटरको म्याराथनका लागि सुनमायालाई तयारी गराउन थाले । राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरे पनि प्रतियोगिता हुन समय लाग्यो । त्यसपछि सुनमायाको जीवनको बाटो मोडियो । उनी सन् २०१६ को सुरुमा ट्रेल रेसमा सहभागी हुन काठमाडौं गइन् । गोदावरीमा भएको १२ किलोमिटरको ट्रेल जित्दै उनले सबैको ध्यान तानिन् ।


त्यतिबेलासम्म उनलाई ट्रेल रेसबारे केही थाहा थिएन । तर, गाउँमा मेलापात, घाँस–दाउँरा, उकाली–ओराली गरेकी उनलाई अफ रोडमा हुने ट्रेल रेसमा दौडन कुनै गाह्रो भएन । पहिलो सहभागितामै सहज रूपमै पहिलो भइन् । गोदावरीमा पहिलो भएपछि उनलाई मनास्लु स्टेप रेस गर्ने मौका मिल्यो । ७ दिनमा १७० किलोमिटर दौडिनुपर्ने उक्त रेसमा पनि सुनमाया पहिलो भइन् ।


मनास्लुमा पनि पहिलो भएपछि उनलाई हङकङ जाने मौका मिल्यो । सन् २०१६ डिसेम्बरमा हङकङको एमएसआइजी लङटाउमा दौडने पक्का भएपछि उनको खुसीको सीमा रहेन । हङकङ पुगिन् । सँगै चिन्ता पनि थपियो । हङकङ गएपछि अंगे्रजी बोल्नुपर्छ । केरा मात्र खाएर सुतिन् । त्यसपछि आयोजकले सहयोग गरे अनि बल्ल सहज भयो ।


५० किलोमिटरको एमएसआइजी लनटाउमा १८ वर्षमुनिको प्रतिस्पर्धामा उनी एसियातर्फ च्याम्पियन भइन् । यसरी पहिलो प्रतिस्पर्धालाई नै उनले यादगार बनाइन् । 

त्यसपछिका वर्षमा उनले पछाडि फर्केर हेर्नुपरेन । चीन, जर्मनी, स्विट्जरल्यान्डको अल्ट्रा रेसमा सहभागिता जनाउन थालिन् र उत्कृष्ट प्रदर्शन गरिन् । सन् २०१९ सम्म उनले एसिया र युरोप गरी दर्जनभन्दा बढी अल्ट्रा रेसमा प्रतिस्पर्धा गरिन् । जुम्लाको ३ हजार मिटर उचाइमा घाँस–दाउरा र उकालो–ओरालो गर्दै हुर्केकी उनलाई अल्ट्रा र ट्रेल रेसको रुट अप्ठेरो लाग्दैन । तर, उनलाई नयाँ ठाउँमा खाना र भाषाको साह्रै समस्या पर्छ । कहिलेकाहीँ हावापानीले साथ दिँदैन । 

 

घन्टौँ दौडिँदा बीचबीचमा आउने चेक प्वाइन्टमा कति खाने र कस्तो खाने भन्ने नजान्दा समस्यामा पर्ने गर्थिन् । कोभिड–१९ ले सन् २०२० देखि १ वर्ष अल्ट्रा दौडलाई पनि असर ग¥यो । उनी दौडिन पाइनन् । सन् २०२१ मार्चमा विश्वकै चर्चित ब्रान्ड द नर्थ फेस एड्भेन्चर टिमले सुनमायालाई आबद्ध ग¥यो । यसले उनको अल्ट्रा दौड करिअरलाई थप उचाइमा पुग्न सजिलो भयो ।

 

नर्थ फेसमा आबद्ध भएपछि उनले अभ्यास, डाइट, किट्स र विदेश जान प्रायोजक पाउँछिन् । उनले अब हरेक रेसअघि छुट्टै प्रशिक्षक पाउँछिन् ।हरेक साता आफ्नो अभ्यासको रिपोर्ट बुझाउनुपर्छ । त्यसको विश्लेषण गर्दै नर्थ फेसले उनका लागि रणनीति बनाउने गर्छ । नर्थ फेससँग आबद्ध भएपछि उनले थाइल्यान्ड बाई युटिएमबीमा भाग लिएकी हुन् । प्रतियोगिताअघि उनलाई अस्ट्रेलिया प्रशिक्षकले अभ्यास दिएका थिए । 

 

छुट्टै रणनीति बनाएर कुद्न पठाएको थियो । यसले उनी सफल भइन् । ‘राम्रो प्रशिक्षण पाएकाले सफल भएजस्तो लाग्छ । मेरो टिमले गर्दा यहाँ आइपुगेँ,’ उनले भनिन् । अब फ्रान्समा हुने युटिएबीको सबभन्दा ठूलो अल्ट्रा रेसमा भाग लिने उनको लक्ष्य छ । त्यो रेस जितेर देश र आफ्नो परिवारको नाम उँचो बनाउन चाहेको उनी बताउँछिन् । 

 

७ वर्षअघिको आफ्नो दृढ संकल्पले यहाँसम्म आइपुगेको उनले सुनाइन् । ‘परिवारले भनेको मानेर बिहे गरेको भए यहाँसम्म आइपुग्दिन थिएँ । देश–विदेश घुमेर नाम कमाउने अवसर पाउँदिन थिएँ,’ उनी भन्छिन्, ’मेरा साथीका तीन–चार बच्चा भइसके । मेरो भने बिहेतर्फ ध्यानै गएन ।’ दौडमा जित्नुबाहेक अब उनलाई आफूले गरेको संघर्ष अरूले भोग्न नपरोस् भनेर सबैलाई सचेतना फैलाउन मन छ । ‘गाउँका स्कुलमा गएर बच्चैमा बिहे गर्नुहुन्न, सहयोग ग¥यो भने छोरीले पनि राम्रो गर्न सक्छिन् भनेर सिकाउन मन छ,’ उनले भनिन्, ’छोरीले पाल्दैनन् । छोरीले केही गर्दैनन् भनेर सोच्नुहुन्न । राम्रो सोच्यो भने छोरीले पनि आमाबुबालाई हेर्छन्, पाल्छन् भनेर सिकाउन मन छ ।’

 

यति भन्दा उनी निकै भावुक भइन् । ‘मलाई पनि आमाबुबालाई पाल्न सक्छु जस्तो लाग्छ,’ उनी भक्कानिइन्, ‘सानोमा मेरी आमाले छोरीले पढेर जागिर खाएर हामीलाई पाल्छे भन्नुहुन्थ्यो । यस्तो भन्दै कहिलेकाहीँ आमा निकै रुनुहुन्थ्यो । हाम्रो एउटा मात्र दाइ हुनुहुन्छ । अर्को छोरा जन्मिएन भनेर आमा पीर गर्नुहुन्थ्यो । अर्को छोरा जन्माउने भन्दाभन्दै ७ वटा छोरी जन्मियौँ ।’

 

गाउँघरका मान्छेले पनि तिमीहरूको एउटा छोरा मात्र जन्मियो । अब बुढेसकालमा तिमीहरू बूढाबूढी मात्र हुन्छौ भन्थे । सुनमाया पढेको र टाठी भएर होला, आमा सुनमायामै छोराको कल्पना गर्थिन् । ‘अरू छोरीलाई देखाउँदै सुनमाया छोरा भएको भए बिहे हुन्थ्यो । एउटा छोरासँग बस्न नसके पनि अर्को छोरासँग बस्थेँ,’ आमाको यस्तो कुरा सुनमायाको मनैसम्म गढेको थियो ।


‘पैसा कमाउँछु । बजारमा घर बनाउँछु अनि आमाबालाई राम्रोसँग राख्छु । अहिलेसम्म हामीलाई हुर्काउँदा हुर्काउँदा दुःख पाउनुभयो । अब सुख दिन्छु,’ सुनमाया मनमनै योजना बनाउँछिन् । उनलाई अब आमाबालाई आफूले देश–विदेशमा कुदेको देखाउन मन छ । कहिल्यै जहाज नचढेका आमाबालाई जहाज चढाएर खुसी दिने मन छ ।

 

त्यसका लागि अल्ट्रा करिअरमा संघर्ष गरिरहेकी सुनमाया अब फ्रान्समा १०१ किलोमिटर हुने रेसमा संसार जित्न चाहन्छिन् । बाल्यकालमा मृत्यु जितेकी सुनमाया अहिले संसार जित्ने लक्ष्य लिएर हिँडिरहेकी छन् । 

 

बुढालाई सम्मान
थाइल्यान्डमा ११० किलोमिटर लामो दौड जितेकी जुम्लाकी सुनमाया बुढालाई कर्णाली प्रदेश सरकार र कर्णाली खेलकुद परिषद्ले सम्मान गरेको छ । सोमबार सुर्खेत आएकी सुनमायालाई खेलकुद परिषद्का पदाधिकारीले विमानस्थलमै पुगेर स्वागतसहित सम्मान गरेका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई प्रदेश सरकारले प्रोत्साहनबापत आर्थिक पुरस्कार व्यवस्था गरेको बताए । 

 

प्रदेश सरकारले सुनमायालाई २ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिसकेको छ । कर्णाली प्रदेश सरकारको स्थापना दिवस वा कुनै अवसर पारेर पुरस्कार वितरण गरिने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलले बताए ।