close

रानीमहल सङ्ग्रहालयमा परिणत

रानीमहल सङ्ग्रहालयमा परिणत

Trulli
ADVERTISEMENT

रामपुर– नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ । 

 

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताए । 


  
रु १५ लाखबाट थालनी भएको काम हाल करिब रु ३५ देखि ४० लाख खर्च भइसकेको बताउँदै नगरप्रमुख शाहीले सो रकमले नपुग्ने हुँदा  बजेट बढाउँदै जाने बताए ।  उनले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित रु १० करोडभन्दा बढी बजेट आवश्यक पर्ने हुँदा त्यसलाई क्रमशः बजेट व्यवस्थापन गरेर विकास गर्दै जाने बताउँछन् ।


       
नगरपालिकाका अधिकृत शङ्कर भण्डारीले करिब दुई महिनाको निरन्तर मेहनतले दरबारलाई सङ्ग्रहालयको रुपमा विकास गर्न सकिएको बताए । उनले हराएका पुरातात्विक सामग्री १६६ थान फिर्ता ल्याई सङ्ग्रहालयमा राखिएको बताए । 

 

विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शम्शेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर महल बनाइएको छ । 


 
विसं १९६० मा खड्ग शम्शेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरे भन्ने श्री ३ चन्द्र शम्शेरले थाहा पाए । चन्द्र शम्शेरले पाल्पामा सेना पठाई तैनाथी आफ्नो हातमा लिए । आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए भन्ने ऐतिहासिक कथन छ ।


    
तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ गाउँको बीचमा अवस्थित रहेको रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । धार्मिक र पर्यटकीयरुपले अति महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ ।