close

रौतहट प्रशासनमा आलोपालो प्रणाली

रौतहट प्रशासनमा आलोपालो प्रणाली

Trulli
ADVERTISEMENT

रौतहट–जिल्ला प्रशासन कार्यालय रौतहटले स्थानीयलाई आलोपालो प्रणालीअनुसार सार्वजनिक सेवा प्रवाह गर्ने भएको । कोरोना महामारी बढ्दै गएकाले कार्यालय परिसरमा भीडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आलोपालोअनुसार सेवा दिन थालिएको हो । कार्यालयले बारअनुसार नागरिकलाई नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी र विभिन्न सिफारिसलगायत सेवा दिनेछ ।

 

कार्यालयका अनुसार आइतबार र सोमबार गौर नगरपालिका, राजदेवी नगरपालिका, फतुवा विजयपुर नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिनेछ । मंगलबार र बुधबार बौधिमाई नगरपालिका, देवाहीगोनाही नगरपालिका, यमुनामाई गाउँपालिका र राजपुर नगरपालिकाबासीलाई सेवा दिइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

 

बिहीबार र शुक्रबार मौलापुर नगरपालिका, कटहरिया नगरपालिका, परोहा नगरपालिका तथा ईशनाथ नगरपालिकाका बासिन्दालाई सेवा दिइनेछ । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार सरकारी, सार्वजनिक, निजी कार्यालय÷निकायले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी/गराई स्थानीय तहअनुसार आलोपालोमा सेवा प्रवाह गर्नेछन् । 

 

यसअघि ६ माघमा जिल्ला प्रशासन कार्यालय रौतहटले आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने, गोष्ठी, सेमिनार, बैठक भर्चुअल माध्यमबाट गर्न र भौतिक उपस्थितिमा गर्नुपरे जनस्वास्थ्यको मापदण्डको पालना गरी बढीमा २५ जनालाई मात्रै अनुमति दिइने आदेश जारी गरेको थियो ।