close

भर्चुअल माध्यमबाट वालिङको नगरसभा 

भर्चुअल माध्यमबाट वालिङको नगरसभा 

Trulli
ADVERTISEMENT

स्याङ्जा/वालिङ–स्याङ्जाको वालिङ नगरपालिकाले भर्चुअलमार्फत ११औँ नगरसभा सम्पन्न गरेको छ । कोरोना महामारीका कारण नगरपालिकाले भर्चुअल माध्यमबाट नगरसभा गरेको हो । प्रविधि प्रयोगमार्फत देशमै पहिलो पटक भर्चुअल माध्यमबाट नगरसभा गर्ने वालिङ नगरपालिका पहिलो भएको दाबी नगरप्रमुख दिलीपप्रताप खाँणको छ ।

 

०५४ मा बुधबारकै दिन वालिङलाई नगरपालिका घोषणा गरिएको सन्दर्भ पारेर प्रविधिको प्रयोगसहित नगरसभा गरिएको उनले बताए । नगरसभाका सभासद् घर–घर वा वडा कार्यालयमा बसेर भर्चुअल माध्यमबाट सभामा सहभागी भए । नगरसभाले वालिङ नगरपालिकाको जनस्वास्थ्य विधेयक, २०७८ र शिक्षा ऐन, २०७४ को दोस्रो संशोधन कार्यविधि सर्वसम्मत पारित गरेको छ ।

 


विधायन समितिका सभापति धनबहादुर कुमालले प्रस्तुत गरेको जनस्वास्थ्य विधेयक र शिक्षा ऐनको संशोधन कार्यविधिमाथि छलफल गरी सभाले पारित गरेको हो । त्यस्तै, उपप्रमुख कल्पना तिवारीले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव र न्यायिक समितिको प्रतिवेदन, कार्यपालिकाले गरेका निर्णय अनुमोदनसम्बन्धी प्रवक्ता केदार काफ्लेद्वारा प्रस्तुत प्रस्तावमाथि छलफलसहित सभाले पारित गरेको छ ।


लेखा समिति सदस्य जमुना केसीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन एवं बेरुजु फस्र्योटसम्बन्धी प्रतिवेदन, केसीले नै प्रस्तुत गरेको पूर्वाधार विकास समितिको प्रतिवेदन, सुशासन समिति संयोजक अर्जुनप्रकाश अर्यालले प्रस्तुत गरेको सुशासनसम्बन्धी प्रतिवेदन पारित भएको छ ।

 

सामाजिक विकास तथा फोहोरमैला ब्यवस्थापन समिति संयोजक युगमाया पंगेनीद्वारा प्रस्तुत प्रतिवेदन, आर्थिक विकास समिति संयोजक रेखा थापाद्वारा प्रस्तुत प्रतिवेदन र वातावरण तथा विपद् ब्यवस्थापन समिति संयोजक गीता रनपालद्वारा प्रस्तुत प्रतिवेदन छलफलसहित पारित भएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।