close

अछाममा स्थानीय तहको स्व–मूल्यांकनमा मंगलसेन नगरपालिका पहिलो

अछाममा स्थानीय तहको स्व–मूल्यांकनमा मंगलसेन नगरपालिका पहिलो

Trulli
ADVERTISEMENT

अछाम–अछामका स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्यांकनसम्बन्धी नतिजा सार्वजनिक भएको छ । गत आर्थिक वर्ष ०७७/७८ को स्व–मूल्यांकन नतिजा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो । आर्थिक वर्ष ०७७÷७८ मा सम्पादन क्रियाकलापको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी स्व–मूल्यांकन नतिजा सार्वजनिक गरिएको हो । स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकनमा मंगलसेन नगरपालिका पहिलो भएको छ ।

 

मंगलसेन नगरपालिका ६७ दशमलव ७५ प्रतिशत अंक ल्याएर जिल्लामा पहिलो बनेको छ । बान्नीगढी जयगढ गाउँपालिकाले जिल्लाका १० स्थानीय तहमा सबैभन्दा कम अंक प्राप्त गरेको छ । बान्नीगढी जयगढको कार्यसम्पादन ३६ दशमलव २५ प्रतिशत रहेको छ । 

 

तुर्माखाँद गाउँपालिका ६६ दशमलव ५ प्रतिशत ल्याएर दोस्रो बनेको छ । मेल्लेख गाउँपालिका ६३ दशमलव ६५ प्रतिशत ल्याएर कार्य सम्पादनमा तेस्रो बनेको छ । यस्तै, चौरपाटी गाउँपालिकाले ६५ प्रतिशत ल्याएको छ । साँफेबगर नगरपालिकाले ५६ दशमलव ५ प्रतिशत, ढकारी गाउँपालिकाले ५६ प्रतिशत, कमलबजार नगरपालिकाले ५२ दशमलव २५ प्रतिशत, पञ्चदेवल विनायक नगरपालिकाले ५२ प्रतिशत र रामारोशन गाउँपालिकाले ४० प्रतिशत अंक प्राप्त गरेका छन् ।


रामारोशन गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकनमा अपडेट भएको छैन । कार्यपालिकाको बैठक बसेर एक वा दुई दिनमा अपडेट गरिने रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि संघीय मामिला मन्त्रालयले १० वटा विषय क्षेत्र र सूचक निर्धारण गरेको छ ।


स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्यांकनका लागि शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं वार्षिक व्यवस्थापन विषय क्षेत्र र सूचक निर्धारण गरेको छ । यस्तै, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्य सम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख छ ।

 

गाउँपालिका र नगरपालिकाबीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकन गर्दै आएको छ ।