close

सहकारी क्षेत्रलाई मर्यादित बनाउन मन्त्री श्रेष्ठको आग्रह

सहकारी क्षेत्रलाई मर्यादित बनाउन मन्त्री श्रेष्ठको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मूल्य–मान्यताअनुसार सहकारीलाई अगाडि बढाउन सहकारी बोर्डको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् । 


मन्त्रालयमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्षमा नियुक्त मित्रराज दवाडीलाई नियुक्ति–पत्र वितरण र प्रतिबद्धता जाहेर कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजी चरणमा पुगेको सहकारी बोर्डले पुनर्जीवन पाएकाले सही दिशामा लैजान बोर्डले पहल गर्नुपर्ने धारणा राखिन् । 


सहकारी बोर्ड अध्यक्षसमेत रहेकी मन्त्री श्रेष्ठले नीतिगत रूपमा देखिएका समस्या समाधान गरी सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउन जोड दिइन् ।  उनले संविधानमै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्बे नीतिअनुरूप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताइन् । सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधैँ सहयोग गर्न तत्पर रहेको उनले प्रतिबद्धता जनाइन् । 


मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग अहिले चुनौती र अवसर दुवै रहेकाले सम्भावनाको खोजी गर्दै सहकारीका माध्यमबाट रोजगारी सिर्जना र गरिबी निवारणमा पहल गर्नुपर्ने आवश्यकता औँल्याइन् । 

 

कार्यक्रममा मन्त्रालयमा सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रको सुधार आवश्यक रहेको बताउँदै सहकारी बोर्डले आवश्यकता र औचित्य पुष्टि गर्न जरुरी रहेको सुनाए । राष्ट्रिय सहकारी विकास बोर्डका नवनियुक्त सह–अध्यक्ष मित्रराज दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।