close

सुदूरपश्चिमका पाँच जिल्लामा घट्यो जनसंख्या

सुदूरपश्चिमका पाँच जिल्लामा घट्यो जनसंख्या

Trulli
ADVERTISEMENT

डोटी–सुदूरपश्चिम प्रदेशका ५ वटा पहाडी जिल्लाको जनसंख्या वृद्धिदर घटेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनामा उल्लेख छ । ३० भदौदेखि १८ असोजसम्म पहिलो र २५ कात्तिकदेखि ९ मंसिरसम्म दोस्रो चरणमा भएको भएको राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक तथ्यांकअनुसार प्रदेशका ७ पहाडी जिल्लामध्ये ५ जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर घटेको देखाएको हो ।


अछामको वार्षिक वृद्धिदर –१.०९ प्रतिशत छ । ०६८ को जनगणनाअनुसार अछामको कुल जनसंख्या २ लाख ५७ हजार ४७७ रहेकामा ०७८ को जनगणनाले जनसंख्या २ लाख २९ हजार १ सय १६ मात्रै देखाएको छ । १० वर्षमा जिल्लाको जनसंख्या २७ हजार ६ सय ६१ ले घटेको छ ।


बझाङको जनसंख्या वृद्धिदर पनि ऋणात्मक छ । जिल्लामा –०.३० प्रतिशत ऋणात्मक देखिन्छ । १० वर्षअघि जिल्लाको जनसंख्या १ लाख ९५ हजार १५९ रहेकामा यो वर्ष घटेर १ लाख ८९ हजार ९७ रहेको छ । १० वर्षको यो अवधिमा डोटीको जनसंख्या पनि घटेको छ । ०६८ को जनगणनामा डोटीको जनसंख्या २ लाख ११ हजार ७४६ रहेकामा हाल २ लाख ५ हजार ६८३ मात्र छ ।

 

बैतडीको जनसंख्या पनि घटेको छ । बैतडीमा वार्षिक वृद्धिदर–०.२५ प्रतिशत ऋणात्मक छ । १० वर्षअघि २ लाख ५० हजार ८९८ जनसंख्या रहेको बैतडीमा हाल २ लाख ४४ हजार ४ सय मात्र छ । पहाडी जिल्लाको तुलनामा विकास, व्यापार र उत्पादनका हिसाबले राम्रो मानिने डडेल्धुराको जनसंख्या वृद्धिदर –०.१८ प्रतिशतले ऋणात्मक रहेको छ । ०६८ को जनगणनामा १ लाख ४२ हजार ९४ रहेकामा पछिल्लो जनगणनाले १ लाख ३९ हजार ४ सय २० मात्र देखाएको छ । १० वर्षमा यो जिल्लाको जनसंख्या २ हजार ६७४ ले घटेको छ ।

 

दुई पहाडी जिल्ला बाजुरा र दार्चुलामा जनसंख्या थोरै वृद्धि भएको छ । ०६८ को जनगणनाअनुसार बाजुराको जनसंख्या १ लाख ३४ हजार ९१२ रहेकामा अहिले १ लाख ३८ हजार ९९८ पुगेको छ । जिल्लाको वार्षिक वृद्धिदर ०.२९ प्रतिशत छ । यस्तै, ०७८ को जनगणनामा दार्चुलामा १ लाख ३३ हजार २७४ जनसंख्या रहेकामा हाल १ लाख ३५ हजार ५६ पुगेको छ । जिल्लाको वार्षिक वृद्धिदर ०.१३ प्रतिशत छ ।

 

तराईका जिल्लामा ह्वात्तै बढ्यो जनसंख्या

प्रदेशभित्र पर्ने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरको जनसंख्या वृद्धिदर पहाडी जिल्लाको तुलनामा उल्लेख्य वृद्धि भएको देखिएको छ । राष्ट्रिय स्तरको वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेकामा कैलाली जिल्लाको वार्षिक वृद्धिदर १.५४ प्रतिशत छ । 

 

यस्तै, कञ्चनपुरको वार्षिक वृद्धिदर १.३२ प्रतिशत रहेको छ । ०६८ को जनगणनाअनुसार कैलालीको जनसंख्या ७ लाख ७५ हजार ७०९ रहेकामा अहिले ९ लाख ११ हजार १५५ पुगेको छ । यो संख्यागत जनगणनाभन्दा १ लाख ३५ हजार ४४६ ले बढी हो ।

 

०७८ को जनगणनाअनुसार कञ्चनुरको जनसंख्या ४ लाख ५१ हजार २४८ रहेकामा हाल ५ लाख १७ हजार ६४५ पुगेको छ । १० वर्षमा यो जिल्लाको जनसंख्यामा ६६ हजार ३९७ ले बढेको छ ।