close

सुकुम्बासीलाई लालपुर्जा दिएरै छाड्छौँ : भूमि आयोग अध्यक्ष तिमल्सिना

सुकुम्बासीलाई लालपुर्जा दिएरै छाड्छौँ : भूमि आयोग अध्यक्ष तिमल्सिना

Trulli
ADVERTISEMENT

चितवन–राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले भटमास चिउरा खाएरै भए पनि सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने बताएका छन् । सोमबार भरतपुरका विभिन्न सुकुम्बासी संघ–संस्थाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष तिमल्सिनाले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सुकुम्बासी वस्ती रहेको भरतपुरको वडा नम्बर ११ र २ का स्थानीयलाई सम्बोधन गर्दै उनले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । 


यसअघिको सरकारले सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रयास गरे पनि सफल नभएको दाबी गर्दै उनले अब वास्तविक सुकुम्बासीले केही दिनभित्रै सेतो नभई रातो लालपुर्जा पाउने दाबी गरे । अध्यक्ष तिमल्सिनाले ओली सरकारले निर्वाचन घोषणा भएपछि आचारसंहिता लागू हुने र त्यसबीचमा लालपुर्जा वितरण गर्न नमिले पनि कार्यकर्ता पोषाउन आयोग गठन गरिएको दाबी गरे ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्काल सुकुम्बासीलाई लालपूर्जा वितरण निर्देशन दिएसँगै कामलाई अगाडि बढाइएको उनको भनाइ छ । लामो समयदेखि सुकुम्बासीको हकहितमा काम गर्दै आएकाले यस पटक लालपुर्जा दिलाएरै छाड्ने उनले सुनाए । जिल्लामा रहेका सुकुम्बासीलाई ३ चरणमा वर्गीकरण गरी लालपुर्जा वितरण गर्न लागिएको छ ।

 


आयोगले दलित सुकुम्बासी, भूमिहीन सुकुम्बासी र अव्यवस्थित गरी लालपुर्जा वितरण गर्न लागेको छ । सुकुम्बासी समस्या समाधान गर्न सरकारले यसअघि १७ वटा आयोग गठन गरे पनि सुकुम्बासीले लालपुर्जा पाउन सकेका छैनन् । जिल्लामा करिब ५० हजार सुकुम्बासी छन् ।

 

लालपुर्जा वितरण स्थल निरीक्षण
लालपुर्जा वितरण प्रक्रियाका लागि राष्ट्रिय भूमि आयोग चितवनले स्थलगत निरीक्षण गरेको छ । चितवनका ३ वटा स्थानीय तहमा लालपुर्जा वितरणका लागि आयोगका अध्यक्ष बद्री तिमल्सिनासहितको टोलीले फिल्डमा खटिएर स्थलगत निरीक्षण गरेको हो ।


भरतपुर महानगर प्रमुख रेनु दाहाल र कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठसँग छलफल, भेटघाटसँगै लालपुर्जा वितरण गर्ने स्थानको निरीक्षण गरिएको अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।

 

मंगलबारदेखि स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा स्याटेलाइट र नापीका प्राविधिकसहित काम सुरु हुने उनको भनाइ छ । अध्यक्ष तिमल्सिनाले विवादरहित तरिकाबाट सहकार्य गर्न नगर प्रमुखहरूसँग आग्रह गरे ।


 
आयोगले भरतपुर महानगरको ६ वटा वडा, कालिका नगर र माडी नगरपालिकाको ३–३ वटा वडा गरी १२ वटा वडाबाट पहिलो चरणमा काम सुरु गर्ने उनले बताए । प्रत्येक टोलीमा १ सर्वेक्षक र १ अमिन, बाँकी स्थानीय पालिकाले सहयोग गर्न पठाएका प्राविधिकसहितका बढीमा ४ गरी ६ जनाको टोली प्रत्येक वडामा खटिनेछ । 


सबै विवरण डिजिटलाइजेसन गरेसँगै लालपुर्जा वितरण सुरु हुने अध्यक्ष तिमल्सिनाले बताए । भरतपुर महानगरमा मात्रै १० हजार २९, कालिका नगरमा ५ हजार ५ सय ५९ र माडी नगरमा ५ हजार ४ सय ५६ जना दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी लालपुर्जा माग गर्दै निवेदन दिएका छन् । स्थलगत अनुगमनमा भरतपुर महानगर प्रमुख दाहालले चुनावी अभियानका क्रममा बोलेका वाचा पूरा गर्न भूमि आयोगका अध्यक्ष तिमिल्सिनाको सक्रियता प्रशंसनीय रहेको बताइन् ।


कालिका नगरका प्रमुख खुमनारायण श्रेष्ठले सुकुम्बासीलाई लालपुर्जा दिने अभियानमा आयोग सक्रिय भएकामा खुसी व्यक्त गरे । आयोगमा ३० वर्ष अघिदेखि सेतो पुर्जा प्राप्त गरेका माडी नगरका २ सय ९७ जनालाई लालपुर्जा दिने प्रक्रिया तत्कालै सुरु हुने उनले बताए ।


अध्यक्ष तिमल्सिनाले ०३६ मा माओवादी केन्द्रका अध्यक्ष दाहालले भरतपुर महानगर वडा नम्बर १४ नम्बर वडा तत्कालीन शिवनगर गाउँ पञ्चायतको हनुमाननगरको गौचरनमा दलित, भूमिहीन र सुकुम्बासीलाई बसाएको ठाँउबाट लालपुर्जा वितरण सुरु गरिने जानकारी दिए ।