close

प्रधानमन्त्री देउवाद्वारा महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान

प्रधानमन्त्री देउवाद्वारा महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुदमन्त्री महेश्वरगंज गहतराजले बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेका हुन् । 

 

गत ६ देखि १६ पुससम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । नेपालले उपाधि जितेलगत्तै युवा तथा खेलकुदमन्त्री गहतराजले नगद पुरस्कार घोषणा गरेका थिए । मन्त्री गहतराजकै पहलमा १४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले उपाधि विजेता टिमका १२ खेलाडीलाई जनही ५÷५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे थियो । 

 

सोही निर्णयलाई कार्यान्वयन गर्दै सरकारले शुक्रबार खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई प्रमाणपत्र तथा नगद पुरस्कारले सम्मान गरेको हो । सम्मानित हुने खेलाडीमा अरुणा शाही कप्तान, मनीषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु रहेका छन् । त्यसैगरी प्रमुख प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसीलाई समेत सम्मान गरिएको छ ।

 

ब्याडमिन्टन खेलाडी प्रिन्स सम्मानित

नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा दाहाल सम्मानित भएका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थानमा उक्लँदै इतिहास रचेका प्रिन्सलाई प्रधानन्त्री देउवाले सम्मान गरेका हुन् ।

 

युवा तथा खेलकुदमन्त्री गहतराजको उपस्थितिमा भएको कार्यक्रममा प्रिन्सलाई सम्मानपत्र प्रदान गरियो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।