close

गुल्मी जिल्ला प्रशासनमा आलोपालो सेवा

गुल्मी जिल्ला प्रशासनमा आलोपालो सेवा

Trulli
ADVERTISEMENT

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सोमबारबाट स्थानीय तहअनुसार आलोपालो सेवा सुरु गरेको छ । गत ११ माघमा कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएर बन्द रहेको प्रशासनले स्थानीय तहलाई बारअनुसार सेवा दिन सुरु गरेको हो । 


प्रशासनले सेवाग्राहीमा समेत कोरोना संक्रमणको उच्च जोखिमका कारण अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो । आइतबार, सोमबार रुरुक्षेत्र गाउँपालिका र सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिका नागरिकले सेवा पाउने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । यस्तै, मंगलबार, बुधबार मुसीकोट नगरपालिका, मालिका, मदाने र इस्मा गाउँपालिकाका नागरिकले सेवा पाउनेछन् । 

 

बिहीबार, शुक्रबार रेसुंगा नगरपालिका, गुल्मीदरबार, धुर्कोट र छत्रकोट गाउँपालिकाका नागरिकले सेवा पाउनेछन् । बारअनुसार स्थानीय तहका नागरिकले नागरिकतासम्बन्धी सेवा लिन पाउने प्रशासनले जनाएको छ । राहदानी र राष्ट्रिय परिचयपत्र विवरण दर्तासम्बन्धी कार्य अर्को सूचना प्रकाशन नभएसम्म सञ्चालन नहुने प्रशासनले बताएको छ ।

 

राष्ट्रिय परिचयपत्रको विवरण दर्तासम्बन्धी अनिवार्य बनाउनुपर्ने भए सेवाग्राहीले आवश्यकताको कारण र आधारसमेत खोली निवेदन दिएमा विवरण दर्ता गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । मतदाता नामावली विवरण संकलनका लागि जिल्ला निर्वाचन आयोगको कार्यालयमा सम्पर्क राख्न कार्यालयले सेवाग्राहीलाई आग्रह गरेको छ । सेवा लिन आउनेलाई खोप कार्ड र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना अनिवार्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।