close

श्रमिक अस्पताल निर्माण हुने

श्रमिक अस्पताल निर्माण हुने

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले श्रमिकका लागि पनि श्रमिक अस्पताल निर्माण गर्ने भएको छ । यसअघि शिक्षक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले चितवनलाई छनोट गरेको छ । निजामती, प्रहरी, सेना, कर्मचारी, अस्पताल निर्माण भइसकेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गठन गरेका छन् ।

 

श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा अस्पताल निर्माण सम्भाव्यताको अध्ययन टोली गठन गरिएको हो । टोलीले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोतसाधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गर्नेछ ।

 

अध्ययन टोलीमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकका साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिका साथै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)का प्रतिनिधि रहेका छन् ।


श्रेष्ठले देशको आर्थिक विकास र समृद्धिको आधारका रूपमा रहेका लाखौँ श्रमिकलाई भरपर्दो र सर्वसुलभ स्वास्थ्योपचारको व्यवस्था मिलाउन अस्पतालको आवश्यकता महसुस गरी सम्भाव्यता अध्ययन थालिएको बताए ।

 

अस्पतालको उद्देश्यमा ७० लाख बढी आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा तिनका परिवारको सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधोपचार सुविधा उपलब्ध गराउने, पेसागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल विकास गर्ने रहेको छ ।

 


औद्योगिक करिडोरमा काम गर्ने हजारौँ श्रमिक समयमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै मन्त्री श्रेष्ठले श्रमिक र श्रमिकका परिवारका लागि न्यून मूल्यमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक देखिएकाले श्रमिक अस्पतालको अवधारणा ल्याइएको जानकारी दिए । 


यस्तै, योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्योपचारसम्बन्धी व्यवस्था कार्यान्वयन गराउनुका साथै वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा तिनका परिवारको सदस्यका लागिसमेत सहुलियतमा उपचार सेवा उपलब्ध गराइने उल्लेख छ ।