close

बझाङका १२ स्थानीय तहमा समृद्धि कार्यक्रम

बझाङका १२ स्थानीय तहमा समृद्धि कार्यक्रम

Trulli
ADVERTISEMENT

बझाङ–बझाङका दुई नगरपालिका र १०  गाउँपालिकासहित १२ स्थानीय तहमा उच्च पहाडी एवं हिमाली क्षेत्र समृद्धि कार्यक्रम सञ्चालन हुने भएको छ । उक्त क्षेत्रको आर्थिक र सामाजिक रूपमा पछाडि परेका वर्ग र समुदायलाई लक्षित गरी सरकारले उच्च पहाडी एवं हिमाली क्षेत्र समृद्धि कार्यक्रम कार्यान्वयन गर्न लागेको हो ।

 

चालु आर्थिक वर्ष ०७८/७९ देखि नै कार्यान्वयन गर्ने गरी १२ वटै स्थानीय तहलाई योजना छनोट गरी पठाउन सार्वजनिक सूचना जारी गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ । विभागका अनुसार जिल्लामा मानव विकास सूचकाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका स्थानीय तहमा एकीकृत बस्ती विकास, भौतिक पूर्वाधार विकास तथा जीविकोपार्जन सुधारका कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ । 

 

विभागका अनुसार बझाङका साइपाल गाउँपालिका, तलकोट, मष्टा, खप्तडछान्ना, थलारा, केदारस्युँ, दुर्गाथली, छविसपाथिभेरा, वित्थडचिर, सुर्मा गाउँपालिका, जयपृथ्वी नगरपालिका र बुंगल नगरपालिका गरी १२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रमले आर्थिक, सामाजिक र विकासको पहुँचबाट पछाडि परेका उक्त क्षेत्रका नागरिकको आर्थिक र सामाजिक रुपान्तरणमा टेवा पुर्‍याई पूर्वाधार विकासमा पहुँच अभिवृद्धि हुने बताइएको छ ।

 

आयोजना कार्यान्वयनका लागि कार्यक्रमका तर्फबाट ८० प्रतिशत र स्थानीय तहबाट २० प्रतिशत लागत साझेदारी गर्नुपर्नेछ । आयोजना छनोट गर्दा बढी लागत साझेदारी गर्ने स्थानीय तहलाई बढी प्राथमिकता दिइनेछ । स्वीकृत आयोजना कार्यान्वयनका लागि स्थानीय तहको माग आवश्यकता र औचित्यका आधारमा प्रतिआयोजना २५ लाखदेखि २ करोड रुपैयाँसम्म दिइने उच्च पहाडी एवं हिमाली समृद्धि कार्यक्रम कार्यविधिमा उल्लेख छ ।

 

साना सडक स्तरोन्नति, सामुदायिक पूर्वाधार, कृषि विकास, खानेपानी तथा सरसफाइ, सिँचाइ तथा नदी नियन्त्रण, ऊर्जा, विपद् जोखिम न्यूनीकरणको पूर्वाधार र एकीकृत बस्ती विकासलगायतका लागि बजेट अनुदान दिइनेछ । त्यस्तै, परम्परागत पेसा, प्रवद्र्धन एवं आयआर्जन एवं जीवनस्तर सुधारका लागि अनुदान प्रदान गर्ने गरी कार्यविधि निर्माण गरिएको छ । चालु आवमा उक्त कार्यक्रम सञ्चालन गर्न ८५ करोड रुपैयाँ विनियोजन गरिएको विभागले जनाएको छ ।