close

कावासोतीको १०औँ नगरसभा : पाँच वर्षे कार्यकालको समीक्षा 

कावासोतीको १०औँ नगरसभा : पाँच वर्षे कार्यकालको समीक्षा 

Trulli
ADVERTISEMENT

नवलपुर–नवलपुरको कावासोती नगरपालिकाको १०औँ नगरसभाले विनियोजन ऐन, २०७८ को पहिलो संशोधन प्रस्ताव पारित गरेको छ । मंगलबार भएको नगरसभामा कावासोती नगरपालिकाका उपप्रमुख तथा प्रेमशंकर मर्दनियाले प्रस्तुत गरेको विनियोजन ऐन, २०७८ को पहिलो संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

 


नगर उपप्रमुख मर्दनियाले चालू आर्थिक वर्ष ०७८÷७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार विभिन्न शीर्षकमा छुट्याइएको रकम आंशिक वा पूर्ण खर्च नहुने र कुनै अत्यावश्यक कार्य यसै आर्थिक वर्षभित्र गर्नुपर्ने भएकाले विनियोजन ऐन, २०७८ को पहिलो संशोधन प्रस्ताव गरिएको बताए । यस्तै, कृषि तथा पशुपक्षी विधेयक, २०७८ समेत पारित भएको छ । आर्थिक विकास समिति संयोजक लक्ष्मीप्रसाद पौडेलले सभासमक्ष उक्त विधेयक पेस गरेका थिए । 

 


उनले नगरभित्रका नागरिकको खाद्यसम्बन्धी हकको सुनिश्चितता र किसानको सशक्तीकरण गर्दै कृषि क्षेत्रको विकास र परम्परागत तथा आधुनिक कृषि प्रणालीको व्यवसायिकीकरण गरी आत्मनिर्भरताका लागि कृषि विधेयक निर्णयार्थ पेस गरिएको जानकारी दिए । उक्त विधेयक सर्वसम्मत पारित भएको छ ।

 


यस्तै, नगर उपप्रमुख मर्दनियाले प्रस्तुत गरेको विविध प्रस्तावसमेत सभाले सर्वसम्मत पारित गरेको छ । प्रस्तावमा बालमन्दिर मन्टेश्वरी वडा नम्बर ५ लाई सञ्चालन अनुमति दिने, चालू आव ०७८÷७९ मा नेपाल सहरी शासकीय तथा पूर्वाधार कार्यक्रमअन्तर्गत निर्धारित कार्यान्वयन हुन नसक्ने आयोजनालाई वडा समितिको सिफारिसमा नगर समन्वय समितिले कार्यान्वयनयोग्य योजनामा परिवर्तन गरी कार्यान्वयन गर्न स्वीकृति दिनेलगायत विविध प्रस्ताव पेस गरिएको थियो ।

 


नगरपालिकाको समीक्षा प्रगति प्रतिवेदनसमेत सभाले सर्वसम्मत पास गरेको छ । कावासोतीका नगरप्रमुख चन्द्रकुमारी पुनले सभामा पेस गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ । प्रतिवेदनमा पूर्वाधार विकासतर्फ नयाँ जिल्लाको सदरमुकामसमेत भएको हुँदा विभिन्न प्रशासनिक भवन, संरचना निर्माण, सडक यातायातको विस्तार र सुदृढीकरण, पर्यटन पूर्वाधार निर्माण, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेसजालीसहितको वाल निर्माण, खानेपानी तथा सिँचाइ पूर्वाधार, विद्यालय तथा खेलकुद मैदान निर्माणका लागि नगरपालिकाले अग्रसरता लिएर काम गरेको जनाइएको छ ।

 


पाँच वर्षे कार्यकालमा नगरभित्रको ६४ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गरिएको, कच्ची सडक तथा सञ्चालनमा रहेको सडकको करिब १२८ किलोमिटर ग्राभेल तथा स्तरोन्नति भएको र नगरको विभिन्न स्थानमा गरेर १० किलोमिटर पक्की सडक मर्मत गरिएको, नगरको गौरवको योजनाभित्रको नगर चक्रपथ निर्माणलाई निरन्तरता दिँदै १० किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ । स्वास्थ्य क्षेत्रमा आमा स्वास्थ्य कार्यक्रमबाट हालसम्म १८८१ गर्भवती तथा १७१७ सुत्केरी लाभान्वित भएको, कार्यक्रमका लागि आव ०७७/७८ सम्म २६ लाख ९० हजार रुपैयाँ खर्च भएको जानकारी नगरप्रमुख पुनले दिइन् ।

 

 

सामाजिक, आर्थिक विकास, संस्कृति तथा पर्यटन क्षेत्रमा समेत नगरपालिकाले उल्लेख्य काम गरेको उनको भनाइ छ । कार्यक्रममा विभिन्न वडाअध्यक्ष तथा सदस्यले आ–आफ्नो धारण र प्रश्न राखेका थिए । उनीहरूले राखेका प्रश्नको जवाफ नगरप्रमुख पुन र उपप्रमुख मर्दनियाले दिएका थिए । सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती तथा कर्मचारी, पत्रकारलगायतको सहभागिता थियो ।