close

सांसद बानियाविरुद्धको बलात्कार मुद्दा दर्तामा प्रहरीको आनाकानी 

सांसद बानियाविरुद्धको बलात्कार मुद्दा दर्तामा प्रहरीको आनाकानी 

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाकी एक महिलाले बाँके प्रहरीमा मुगुका समानुपातिक सांसद तथा पूर्वमन्त्री मोहन बानियाले बलात्कार गरेको आरोपको जाहेरी दिएको तीन दिन बितिसक्दा पनि मुद्दा दर्ता हुन सकेको छैन । प्रहरीले मुद्दा दर्तामा ढिलाइ गरेको पीडित पक्षले गुनासो गरेको हो । सांसद बानियाले आफूलाई बलात्कार गरेको विषयमा बाँके प्रहरी नेपालगन्जमा जाहेरी दिए पनि अहिलेसम्म ढिलाइ भएको ती महिलाको गुनासो छ ।

 

पीडित महिलाले बुधबार पुनः जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर मुद्दा दर्ता नभएको विषयमा सोधीखोजी गर्दा उल्टै प्रहरीले यो मुद्दा दर्ता भएजस्तै मान्नू भन्दै सम्झाएको र आधिकारिक मुद्दा दर्ता नभएको बताएको पीडित महिलाले जानकारी दिइन् । संवेदनशील मुद्दामा प्रहरी सक्रिय भएर दोषीलाई पक्राउ गर्नुपर्ने, मुद्दा दर्ता गर्नुपर्नेमा विभिन्न बहानामा बाँके प्रहरीले आलटाल गरिरहेको पीडित महिलाको दाबी छ ।

 


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बहालवाला सांसदविरुद्धमा जाहेरी आएको र अहिले संसद् चलिरहेकाले सभामुखबाट अनुमति लिनुपर्ने हुँदा केही ढिलाइ भएको बताए । उनले भने, ‘पीडितको जाहेरी अनुसन्धान भइरहेको छ । पीडित महिलाले जाहेरी दिइसक्नुभएको छ । मेडिकल जाँचदेखि घटना स्थल जाँचसमेत भइसकेकाले मुद्दा दर्ता हुन्छ ।’

 

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भइरहेको बताए । घटना अनुसन्धानसँगै मुद्दा दर्ता प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए । पीडितले न्याय पाउने र दोषीलाई कारबाही गर्ने विषयमा तलमाथि नहुने उनको दाबी छ । पीडित महिलाले जाहेरीअनुसारको घटना भएको दाबी गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन सहयोगका लागि आग्रह गरेकी छन् ।


सांसद बानियाले बलात्कार मात्रै नभई २५ लाख रुपैयाँसमेत आफूबाट लगेको ती महिलाको दाबी छ । जाहेरीमा उल्लेख भएअनुसार ८ मंसिर ०७६ मा २५ लाख रुपैयाँ सांसद बानियालाई दिएको र माग्दा आफू काठमाडौंमा रहेको र संयुक्त व्यापार गर्ने क्षेत्र खोजी गरिरहेको जवाफ दिएको पीडित महिलाले बताइन् । तर, लामो समयसम्म पनि कुनै व्यापार, व्यवसाय नगरेकाले रकम ब्याजसहित फिर्ता माग्दा चेक दिए पनि बैंकमा नसाटिएको उनले बताइन् ।

 

सांसद बानियाले नेपालगन्जमा रकम दिन्छु भनेपछि अप्सरा होटलको २१५ नम्बर कोठामा बसेको उनको दाबी छ । सोही होटलमा बसेका बानियाले बिहान ५ बजे तपाईंको रकम आयो, ढोका खोल्नुस् भनेपछि ढोका खोलेको मौका छोपेर बलात्कार गरेको महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।


जाहेरीमा मुगुका समानुपातिक संघीय सांसद बानियालाई यथाशीघ्र खोजतलास एवं पक्राउ गरी जबर्जस्ती करणीसम्बन्धी कसुरमा हदैसम्म सजाय मागदाबी गरिएको छ ।