close

वीरेन्द्रनगरमा आपत्कालीन कार्य सञ्चालन केन्द्र

वीरेन्द्रनगरमा आपत्कालीन कार्य सञ्चालन केन्द्र

Trulli
ADVERTISEMENT

सुर्खेत–सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जिल्लामै पहिलो आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नगर क्षेत्रभित्र हुने विपद्का घटनाको न्यूनीकरण तथा रोकथामका लागि गरिने गतिविधि अब नगरपालिकाले यही केन्द्रमार्फत सञ्चालन गर्नेछ ।

 

केन्द्रमा कम्तीमा ७ दिनका लागि पुग्ने खाद्यान्न तथा खानेपानीको मौज्दात वा आपूर्ति सुनिश्चितताको तथ्यांक रहनेछ भने आपत्कालीन अवस्थाका लागि अत्यावश्यक औषधी, महिला तथा शिशुलाई आवश्यक स्यानिटरी प्याड, डाइपरजस्ता सामग्री राखिनेछ । केन्द्र सञ्चालनका लागि आवश्यक कार्यालय तथा मसलन्द सामग्री, आपत्कालीन उद्दारका लागि सामग्री, सूचना तथा सञ्चारका साधन रहनेछन् । 

 

नगरप्रमुख देवकुमार सुवेदीले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र व्यवस्थापन कार्यविधि निर्माण भइसकेको जानकारी दिए । नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक टोपबहादुर दर्लामीको संयोजकत्वमा गठित कार्यदलले कार्यविधिको मस्यौदा तयार पारिसकेको र कार्यपालिका बैठकले उक्त कार्यविधि स्वीकृत गर्नेछ ।

 


कार्यविधिमा पूर्वतयारी, प्रतिकार्य व्यवस्थापन, पूर्वसूचना, सुरक्षा, सूचना तथा सञ्चार, द्रुत क्षति लेखाजोखा, केन्द्र रहने स्थान, व्यवस्थापन कर्मचारीलगायत विभिन्न विषय उल्लेख छ । नगरपालिकाको केन्द्र सञ्चालनका लागि नगरप्रमुखको संयोजकत्वमा निर्देशन समिति हुनेछ । सोही समितिबाट केन्द्र सञ्चालन हुनेछ । नगरप्रमुख सुवेदीले केन्द्रको औपचारिक उद्घाटनपछि यहाँबाट विपद् न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरिने बताए ।