close

बलात्कार प्रकरण : पीडित महिलामाथि सांसद बानियाका आफन्तबाट धम्की

बलात्कार प्रकरण : पीडित महिलामाथि सांसद बानियाका आफन्तबाट धम्की

Trulli
ADVERTISEMENT

जुम्ला–मुगुका सांसद मोहन बानियाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी पीडित महिला असुरक्षित भएकी छन् ।

 

सांसद बानिया र तिनका परिवारबाट चौतर्फी धम्की र प्रलोभन देखाइन थालेको पीडित महिलाले बताइन् । ‘जाहेरी दिएलगत्तै सांसद बानियाका ज्वाइँले प्रत्यक्ष भेटेर भोलि बिहानै १० बजे तपाईंको लिएको २५ लाख रुपैयाँ दिन्छौँ । जाहेरी फिर्ता लिनुस् भनेका थिए’, पीडित महिलाले भनिन्, ‘मैले जाहेरी दिइसकेँ । अब फिर्ता हुँदैन, जे गर्छ, कानुनले गर्छ भनेँ ।’

 

जाहेरी फिर्ता फिर्ता लिन आग्रह गर्दै बानियाकी छोरीले फोन गरेर प्रलोभन देखाएको उनले बताइन् । सांसद बानियाका छोरा मदन बानियाले जाहेरी दिएलगत्तै धम्की दिएको उनको दाबी छ । पीडित महिलाले भनिन्, ‘जाहेरी बोकेर जिप्रका जाँदै थिएँ । बानियाका छोराले तपाईंले जाहेरी दिँदैमा कुनै असर पर्दैन, यस्ता करणी घटना कयौँ बेहोरिसक्यौँ । यसको कुनै तुक छैन भने ।’

 

बानियाका आफन्तले पटक पटक फोन वा प्रत्यक्ष भेटेर धम्की दिइरहेको उनले बताइन् । पीडित महिलाले एक साताअघि सामाजिक सञ्जालमा ‘मेरो ज्यान जोखिममा छ । म मरेँ भने सांसद बानियाकै कारणले मर्नेछु । उहाँ नै जवाफदेही हुुनुहुनेछ’ भन्दै स्टाटस लेखेकी थिइन् । बलात्कार घटना दबाउन कर्णाली प्रदेशका सांसद दानसिंह परियार सक्रिय छन् । उनले पीडित महिलालाई धम्क्याउनेदेखि प्रलोभन देखाएर जाहेरी फिर्ता लिन दबाब दिइरहेका छन् ।


पीडित महिलाका अनुसार जाहेरी दिनेबित्तिकै सांसद परियार बाँके पुगेका थिए । उनले पीडित महिलालाई जाहेरी कसरी दर्ता हुन्छ ? हामी पनि हेर्छौं भन्दै धम्क्याएका थिए । आर्थिक लेनदेनको विषयमा मिलापत्र गर्न पटक–पटक दबाब दिँदै आएको पीडित महिलाले बताइन् ।

 


पटक–पटक लिएको रकम फिर्ता माग गरेपछि सांसद बानियाले २५ लाख रुपैयाँको चेक काटेका थिए । तर, उनले राष्ट्रिय वाणिज्य बैंक खातामा रहेको चेक काटे पनि रकम थिएन । चेक बाउन्स भएको छ ।  सोही बाउन्स भएको चेकसमेत पीडित महिलाबाट कर्णाली प्रदेशका सांसद परियारसहितको टोलीले खोसेको थियो ।


पीडित महिलाले सांसद बानियाले जाहेरीमा नेपालगन्जस्थित अप्सरा होटलमा बलत्कार गरेको दाबी गरेकी छन् । उनले भनिन्, ‘बानियाले लिएको रकम फिर्ता गर्ने भन्दै बोलाएर बलात्कार गरे ।’