close

भानु नगरका सेवानिवृत्त शिक्षकलाई ५० हजार प्रोत्साहन भत्ता 

भानु नगरका सेवानिवृत्त शिक्षकलाई ५० हजार प्रोत्साहन भत्ता 

Trulli
ADVERTISEMENT

तनहुँ–तनहुँको भानु नगरपालिकाले स्वैच्छिक अवकाश हुने शिक्षकलाई ५० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्राथमिक तहका शिक्षकलाई प्रोत्साहन सुविधा दिन थालेको हो ।

 


राजीनामा स्वीकृत भएपछि अवकाश हुने शिक्षकलाई ५० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिइने नगरपालिकाले जनाएको छ । नगरपालिकामा प्राथमिक तहमा १०० शिक्षक दरबन्दी बढी रहेको र शिक्षक दरबन्दी बढी हुँदा सरकारलाई आर्थिक भार परेकाले प्रोत्साहन भत्ता दिएर सम्मानजनक बिदाइ गरिएको नगर शिक्षा अधिकारी धु्रवराज पौडेलले बताए ।

 


सम्मानजनक बिदाइ कार्यक्रमअन्तर्गत ऐच्छिक अवकाश लिनेलाई नगरपालिकाको आन्तरिक स्रोतबाट ५० हजार नगद प्रोत्साहन रकम १३ जना शिक्षकलाई ६ लाख ५० हजार रुपैयाँ प्रदान गरिसकिएको पौडेलले जानकारी दिए । एक शिक्षक बराबर सरकारलाई वार्षिक चार लाख रुपैयाँभन्दा बढी आर्थिक भार पर्ने गरेको छ ।

 

अवधि पुगेका शिक्षकलाई अवकाशमा जान प्रोत्साहन गर्ने कार्यलाई प्राथमिकता दिइएको पौडेलले बताए । विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी बढी हुँदा शिक्षक व्यवस्थापन गर्न ‘सम्मानजनक शिक्षक बिदाइ कार्यक्रम छनोट गरी बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

 

नगर शिक्षा अधिकारी पौडेलका अनुसार प्राथमिक तहमा १७९ दरबन्दी रहेकामा १०० बढी भए पनि निम्नमाध्यमिक तथा माध्यमिक तहमा भने शिक्षक संख्या कम छ । निम्नमाध्यमिक विद्यालयमा ११५ जना शिक्षक चाहिनेमा ८९ मात्रै भएकाले २६ दरबन्दी कम छ । माध्यमिक तहमा १११ चाहिनेमा ९० जना मात्रै भएकाले २१ शिक्षक कम रहेको उनले बताए ।