close

तोकिएकै समय योजना फरफारक गरेपछि वडाध्यक्षलाई पालिकाको सम्मान

तोकिएकै समय योजना फरफारक गरेपछि वडाध्यक्षलाई पालिकाको सम्मान

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाको तातोपानी गाउँपालिका ८ वडामा विभाजित छ । ८ मध्ये वडा नम्बर १ का वडाध्यक्ष प्रेमबहादुर कठायतलाई गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले माघभित्र वडाका सबै योजना सम्झौता गरी सक्नुपर्ने समयावधि तोकेको थियो । वडाले समयावधिभित्र आयोजना सम्झौता गरी कार्यान्वयनमा ल्याएपछि गाउँपालिकाले सम्मान गरेको हो । 

 


विकास निर्माणमा सक्रिय प्रेमबहादुर पालिकाबाट सम्मानित हुने पहिलो वडाध्यक्ष हुन् । उनले खानेपानी, सिँचाइ नहर, सडक, तटबन्धलगायत चालू आर्थिक वर्ष ०७८/७९ मा ११ वटा योजना गाउँपालिकासँग सम्झौता गरेका हुन् । पालिकाले तोकेको समयभित्र सबै विकास योजनाको सम्झौता गराउन सफल भएपछि वडाध्यक्ष कठायतलाई सम्मानित गरिएको गाउँपालिकाले जनाएको छ ।

 


वडाध्यक्ष कठायतलाई पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कर्मचारीले सम्मान गरे । सम्मानित वडाध्यक्ष कठायतले भने, ‘राम्रो काम गरे सम्मान पाइँदो रहेछ । यो कार्यले आगामी दिनमा जनता सँगै रहेर विकास निर्माणका काम गर्न थप उत्साही र जिम्मेवार बनाएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले माघ पहिलो साता कर्मचारी र वडाध्यक्षसागको संयुक्त बैठक राखेर तोकिएको समयभित्रै योजना सम्झौता गरेर सम्पन्न गर्ने निर्णय गराएका थिए । 

 

‘बजेट ल्याउने अन्तिम बेला असारमा विकास निर्माणको चटारो हुने गर्छ । सोही कारण गुणस्तरीय काम हुदैन भन्ने आरोप छ’, प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले भने, ‘यस पटक समयमै विकासका क्रियाकलाप सम्पन्न गरेर असारमा आरामपूर्वक काम गर्ने वातावरण सिर्जना हँुदै छ । यो पालिकाबासीका लागि खुसीको विषय हो ।’


प्राविधिक जनशक्ति परिचालन, जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयका कारण समयमै योजना सम्झौता गर्न सकिने वडाध्यक्ष कठायतले बताए । उनको चर्चा अहिले गाउँपालिकाभर भइरहेको छ । ‘वडा नम्बर १ का वडाध्यक्ष प्रेमबहादुर नमुना कहलिए । सबै योजना माघ तेस्रो सातामै सम्पन्न गर्न सफल भए’, प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले भने, ‘प्रभावकारी समन्वय र सहकार्य गरेकामा गाउँपालिका परिवार खुसी छा । 
यस्तो पाठ सबै वडाध्यक्षले सिक्न जरुरी रहेको उनको बुझाइ छ । अरू जनप्रतिनिधिलाई सिकाइ होस् भनेर वडाध्यक्षको काम गराइलाई ऊर्जा थप्न पालिकाबाट सम्मान गरिएको हो ।


विकासमा गुणस्तर ल्याउन, पुँजीगत खर्च बढाउन, समयमै भुक्तानी सक्न, असारे विकासको अन्त्य गर्न र अनुगमन निरीक्षणलाई प्रभावकारी बनाउन पालिकाले माघभित्रै योजना सम्झौता सम्पन्न गर्ने रणनीति बनाएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने, ‘पालिकाका ८ वटा वडामध्ये १ नम्बर वडाले निर्धारित लक्ष्यअनुसार सबै योजना सम्झौता सकेको छ, जुन उदाहरणीय हो ।’

 

उनले १ नगरपालिका र ७ गाउँपालिकामध्ये तातोपानीले फरक विकास मोडल स्थापित गर्न थालेकामा खुसी व्यक्त गरे । ‘अन्य वडाको पनि सम्झौता भइरहेका छन् । तर, वडा नम्बर १ का वडाध्यक्ष कठायतले सक्रियता देखाउँदा सफल भए,’ उनले भने । जुम्लामा अहिलेसम्म कुनै पनि गाउँपालिकाले योजना सम्झौतालाई सम्पन्न गरेका छैनन् । वडाध्यक्ष कठायतलाई वडाबासीले विकासप्रेमी वडाध्यक्षको रूपमा चिन्दै आएका छन् ।