close

जुम्लामा पाँच महिनामै ५६ लाख यातायात राजस्व 

जुम्लामा पाँच महिनामै ५६ लाख यातायात राजस्व 

Trulli
ADVERTISEMENT

जुम्ला–यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालू आवको पाँच महिनामा झन्डै ५६ लाख रुपैयाँ बढी राजस्व असुली गरेको छ । कार्यालयको नियमित कार्यक्रमअनुसार सवारी दर्ता, सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण, सवारी साधन करलगायत शीर्षकबाट झन्डै ५६ लाख ६४ हजार ५ सय ७० रुपैयाँ राजश्व असुल भएको कार्यालयका सूचना अधिकारी लोकबहादुर महतले बताए ।


उनका अनुसार यातायात क्षेत्रको आम्दानीमार्फत २ लाख २५ हजार ५ सय, चालक अनुमतिपत्र, सवारी दर्तासम्बन्धी दस्तुरबापत १३ लाख २७ हजार ५ सय ३० र सवारी साधन करबापत ४१ लाख ११ हजार ५ सय ४० गरी जम्मा साढे ५६ लाख रुपैयाँ बढी राजस्व संकलन भएको हो । त्यस्तै, चालू आर्थिक वर्षको पाँच महिने तथ्यांकअनुसार जुम्लामा २ सय ९० वटा सवारी दर्ता भएका छन् । साउनमा ६२, भदौमा ४८, असोजमा ५९, कात्तिकमा ६८ र मंसिरमा ५३ जना सवारी दर्ता भएका हुन् ।

 


सबैभन्दा बढी निजी मोटरसाइकल झन्डै ३ सय दर्ता भएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले जनाएको छ । ३ सय ३६ लाइसेन्स नवीकरण र १४ वटा प्रतिलिपि दिइएको छ । प्रक्रियागत विषयले लाइसेन्स वितरण रोकिए पनि कार्यालयका नियमित कामलाई सीमित जनशक्तिका बीच पनि निरन्तरता दिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख निरविक्रम शाहीले बताए ।


यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले फागुनभित्रै सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण खोल्ने तयारी भइरहेको जनाएको छ । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख शाहीले भने, ‘सबैको दबाब र पहलले झन्डै ४ वर्षपछि जुम्लामा लाइसेन्स वितरण तयारी भइरहेको छ । कार्यालयले सबै तयारी गरिरहेको छ । केही प्राविधिक पक्ष बाँकी छ । चाँडै खोल्छाँै ।’


फागुनभित्रै खोल्ने तयारी भए पनि मिति तय नभएको कार्यालय प्रमुख शाहीको भनाइ छ । संघीयता कार्यान्वयन भएसँगै जुम्लाबाट लाइसेन्स वितरण बन्द भएको थियो । 

तर, लामो समयपछि मिडिया क्षेत्रले दिएको दबाब, कर्णाली प्रदेश र संघले दिएको चासो र यातायात व्यवस्था कार्यालयका कर्मचारीको सक्रियताले लाइसेन्स खोल्न थालिएको प्रमुख शाहीले उल्लेख गरे । सबैको सहयोग र साथले जुम्लामा सवारी व्यवस्थापनलाई प्रभावकारी सकिने भन्दै सहयोग अपेक्षा गरिएको शाहीको भनाइ छ ।

 

जुम्लामा बढ्दै गएको अटोरिक्सा, मोटरसाइकल खरिदले सवारी चाप बढ्दो छ । संघीयता कार्यान्वयनसँगै लाइन्सेस वितरण बन्द भएपछि समस्या भएको छ । यी समस्यालाई समाधान गर्न लागिपरेको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले जनाएको छ ।