close

तनहुँमा बाँडिँदै ई–पासपोर्ट

तनहुँमा बाँडिँदै ई–पासपोर्ट

Trulli
ADVERTISEMENT

तनहुँ–जिल्ला प्रशासन कार्यालय तनहुँले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरेको छ । जिल्लाबाटै विद्युतीय राहदानी दर्ता र वितरण थालेपछि सेवाग्राहीलाई सहज भएको छ । ई–पासपोर्ट वितरण सुरु भएपछि स्थानीय खुसी भएका छन् ।

 


जिल्लाबाटै अब ई–पासपोर्ट पाइने भएपछि सेवाग्राहीलाई काठमाडौंं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । एक महिनाअघि ई–पासपोर्टका लागि सेवाग्राहीको फर्म भर्ने र अन्य आवश्यक कागजात संकलन गर्ने काम थालेको कार्यालयले राहदानी विभाग काठमाडौंबाट सेवाग्राहीको ई–पासपोर्ट छापिएर आएपछि हालै वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।


मंगलबार ४० जनाको विद्युतीय राहदानी दर्ता थलिएको सहायक प्रजिअ गैरेले बताए । सुरुमा १५ जना, त्यसपछि २५ को मात्रै दर्ता गरिएकामा विद्युतीय राहदानीका लागि आवश्यक उपकरण र पूर्वाधार व्यवस्थापन गरी मंगलबारबाट ४० जनाको दर्ता गर्न थालिएको गैरेले जानकारी दिए ।
लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले त्यसको झन्डै ११ वर्षपछि ई–पासपोर्ट प्रयोगमा ल्याएको थियो ।


विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरण समाविष्ट हुन्छ । एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने बताइएको छ ।


विद्युतीय राहदानी दर्ताका लागि सेवाग्राही आफंैले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरुमा व्यवस्थापनले केही ढिला भए पनि हाल दर्ता गरेको सातदेखि १० दिनभित्रै ई–पासपोर्ट दिने व्यवस्था मिलाइएको कार्यालयले बताएको छ ।