close

वैज्ञानिकविहीन बने जुम्लाका कृषि अनुसन्धान केन्द्र

वैज्ञानिकविहीन बने जुम्लाका कृषि अनुसन्धान केन्द्र

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लामा कृषि तथा बागवानी र भेडाबाख्रासम्बन्धी अनुसन्धान गर्ने अनुसन्धान केन्द्र छन् । बागवानीजन्य बालीमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारी बिउ उत्पादन गरेर किसानलाई सिफारिस गर्ने उद्देश्यले ०२४ मा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना गरिएको होे । 


तर, स्थापनाकालदेखि नै प्रभावकारी अनुसन्धान हुन सकेको छैन । दक्ष जनशक्ति अभावले नयाँ जातको बिउ अनुसन्धान गरेर किसानमाझ पु¥याउन नसकिएको बागवानी अनुसन्धान केन्द्र राजीकोटका प्रमुख राजकुमार गिरी बताउँछन् । बागवानी अनुसन्धान केन्द्रमा तीन जना वैज्ञानिकको दरबन्दी भए पनि एक जना मात्रै छन् । प्राविधिक अधिकृतको दरबन्दी ३ जनाको छ । तीनै जना प्राविधिक अधिकृत छैनन् । 


यो अनुसन्धान केन्द्रले कर्णालीको उच्च पहाडमा हुने बागवानी कृषि वस्तुको अध्ययन अनुसन्धान गर्छ । बागवानी अनुसन्धान केन्द्रमा १९ जनाको दरबन्दी भए पनि १३ जना मात्रै कार्यरत छन् । आवश्यक जनशक्ति नहुँदा अनुसन्धानका सबै काम रोकिएका छन् । 

 


सोचेअनुसार अनुसन्धान हुन नसकेको प्रमुख गिरी बताउँछन् । उनले भने, ‘सरकार अनुसन्धानका लागि केन्द्र खोल्छ तर पर्याप्त दक्ष जनशक्ति पठाउन नसक्दा अनुसन्धान प्रभावकारी हुन सकेको छैन । अनुसन्धानको काम ठप्प छ । जनशक्ति अभावले जुन तरिकाले अनुसन्धान हुनुपर्ने हो, त्यो हिसाबले हुन सकेन ।’


किसानलाई नयाँ जातका बालीको अनुसन्धान गरेर बिउ उपलब्ध गराउन ०२७ मा कृषि अनुसन्धान केन्द्र विजयनगरमा स्थापना भयो । नयाँ जातका बिउ उत्पादन गरेर किसानलाई उपलब्ध गराएर उत्पादन वृद्धि गर्ने लक्ष्य थियो । जग्गा, जनशक्ति र सिचाइँ अभावले अनुसन्धानमा प्रभाव परेको कृषि अनुसन्धान केन्द्र प्रमुख नारायण मण्डल बताउँछन् । प्राविधिक अधिकृतमा मण्डल एक्ला हुन् । उनले कार्यालय प्रमुखको पनि जिम्मेवारी सम्हालेका छन् ।


एक जना रेशमबाबु अमगाई वैज्ञानिक सरुवा भएर आउँदै छन् । मण्डलका अनुुसार चार जना प्राविधिक अधिकृतमा एक जना आफू मात्रै रहेको र पाँच जना वैज्ञानिकको दरबन्दी रिक्त छ । प्रमुख मण्डलले भने, ‘दक्ष जनशक्ति वैज्ञानिक नहुँदा नयाँ जातका बालीमा अनुसन्धान हुन सकेको छैन । किसानलाई सिफारिस गर्न सकिएको छैन । अनुसन्धानका लागि पर्याप्त जमिन नहुँदा दक्ष कर्मचारी आउनसमेत मान्दैनन् ।’

 


जुम्लाका अनुसन्धान केन्द्रमा आउने कर्मचारी पेलिएर आएको अनुभूति गर्छन् । उनले भने, ‘जमिन हुनुपर्छ । वैज्ञानिक मात्र आएर पनि काम छैन ।’ १८ जना दरबन्दी रहेको कृषि अनुसन्धान केन्द्रमा ११ जना मात्र कार्यरत छन् । यीमध्ये ५ जना कार्यालय सहयोगी छन् । पटक–पटक दक्ष जनशक्ति परिपूर्तिका लागि कृषि अनुसन्धान परिषद्मा माग गरे पनि सुनुवाइ भएको छैन । देशभर दक्ष जनशक्ति अभाव भएको भन्दै परिषद्ले पठाउन नमानेको कर्मचारी बताउँछन् ।


डा.रमेश साह भेडाबाख्रा अनुसन्धान कार्यक्रम गुठीचौर र उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानका प्रमुख हुन् । जनशक्ति अभावमा दुई कार्यालयमा उनले नै प्रमुखका रूपमा काम गरिरहेका छन् । भोडाबाख्रा अनुसन्धान कार्यक्रममा तीन जना वैज्ञानिकको दरबन्दी भए पनि एक जना मात्र कार्यरत छन् । प्राविधिक अधिकृतमा ३ जना दरबन्दी भएकामा तीनै जना प्राविधिक अधिकृत छैनन् ।

 


भेडाबाख्रा अनुसन्धान कार्यक्रममा २२ जना कर्मचारीको दरबन्दी भएकामा ८ जना मात्र कार्यरत छन् । उच्च प्रवतीय कृषि अनुसन्धान प्रतिष्ठानमा १८ जनाको दरबन्दी भएकामा ३ जना मात्र कार्यरत छन् । डा. साहले भने, ‘यहाँका अनुसन्धान केन्द्र नाम मात्रका छन् । दरबन्दीअनुसारको दक्ष जनशक्ति नहुँदा अनुसन्धानको काम अघि बढ्न सकेको छैन । विभिन्न कृषि तथा पशुवस्तुको अनुसन्धानका लागि चार वटा अनुसन्धान केन्द्र छन् । तर, कुनै पनि अनुसन्धान केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् ।’


‘जनशक्ति नहुँदा अनुसन्धानमा असर परेको छ’, डा.साहले भने, ‘भनेजस्तो अनुसन्धान हुन सकेको छैन । कर्मचारी माग गरिए पनि नयाँ नियुक्ति लिन नसकेकाले समस्या छ । यो समस्या देशभरका अनुसन्धान केन्द्रमा छ ।’ भेडाबाख्रा अनुुसन्धान केन्द्र ०२७ मा स्थापना भएको हो । भेडाबाख्रासम्बन्धी अध्ययन अनुसन्धान गरेर स्थानीयलाई सेवा दिने लक्ष्य राखिएको थियो ।


यहाँ अहिले चार वटा जातका भेडा छन् । स्वदेशी बर्नवाल, भ्याङलुङ, उन्नतमा रोम्ली मार्क र कुपोर्थ जातका भेडा छन् । जनशक्ति नहुँदा बजेट कटौती भएको छ । उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानले उच्च पर्वतमा हुने कृषि र पशुमा भइरहेको अनुसन्धालाई पूर्णता दिने काम गरिरहेको छ । ०७१ मा स्थापना भएको यो प्रतिष्ठानमा अहिले जनशक्ति अभाव छ ।


जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा जुम्लामा स्थापना भएका अनुसन्धान केन्द्रको प्रभावकारिता कम हँुदै गएको बताउँछन् । ‘जुम्लामा भइरहेको अनुसन्धानका लागि अहिले वैज्ञानिक तथा कृषि अधिकृतको दरबन्दी रिक्त छ’, उपप्रमुख बुढाले भने, ‘अनुसन्धान प्रभावित छ । राज्यले गर्दै आएको लगानी दुरुपयोग भएको छ । यो राम्रो भएन ।’


कृषि अनुसन्धान परिषद् खुमलटारलाई उपप्रमुख बुढाले तत्काल दक्ष जनशक्ति व्यवस्थापन मिलाई अनुसन्धान कार्यमा तीव्रता दिन आग्रह गरेका छन् । जिल्ला समन्वय समितिको तर्फबाट उपप्रमुख बुढाले कृषि अनुसन्धान परिषद् खुमलटारमा ध्यानाकर्षण–पत्रसमेत पठाएका छन् । जनशिक्त अभावमा अनुसन्धान कार्य प्रभावित नहुने गरी व्यवस्थापन मिलाउन माग गरेका छन् ।