close

किसानलाई प्रविधि सिकाउँदै तनहुँका स्थानीय तह  

किसानलाई प्रविधि सिकाउँदै तनहुँका स्थानीय तह  

Trulli
ADVERTISEMENT

तनहुँ–तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई केही समय अगाडि हाते ट्रयाक्टर वितरण गर्‍यो । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले कृषक छनोट गरी हाते ट्रयाक्टर वितरण गरेको थियो ।     


परम्परागत कृषि पेसा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यसहित गाउँपालिकाले वितरण गरेको हाते ट्रयाक्टरले कृषकलाई सहज भएको छ । गोरुको सहायताले खेतबारी जोत्दै आएका कृषक हाते ट्रयाक्टर पाएपछि खुसी छन् ।

    
गाउँपालिकाले कृषकलाई प्रविधि हस्तान्तरणसँगै सीप सिकाउन थालेको छ । हाते ट्रयाक्टर बिग्रिए मर्मतका लागि पोखरा वा दमौली लैजानुपर्ने बाध्यता रहेकाले कृषक स्वयंलाई मर्मतसम्बन्धी ज्ञान प्रदान गरिएको गाउँपालिकाका उद्योग शाखाप्रमुख प्रदीप न्यौपानेले जानकारी दिए ।  ‘कृषकलाई हाते ट्रयाक्टर दियौं तर बिग्रियो भने बनाउन अन्यत्रै लैजानुपर्ने बाध्यता अन्त्य गर्न सीप पनि दिएका छौं’, उनले भने, ‘यसले कृषक आफैंले हाते ट्रयाक्टर मर्मत गर्न सक्छन् ।’ 


ट्रयाक्टरमा सामान्य समस्या आउँदा आफैंले मर्मतसम्भार गर्न सकून् र टाढाबाट मिस्त्री ल्याएर मर्मत गर्नुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्य राखिएको प्रमुख न्यौपानेले बताए ।  

  
म्याग्दे गाउँपालिका–२ मा सञ्चालित तालिममा १२ जना सहभागी छन् । हाते ट्रयाक्टर मर्मत तालिमले कृषकलाई सजिलो हुने ठानेर सीपमूलक तालिम दिइएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । ‘गाउँपालिकाले कृषकलाई विभिन्न समय प्रविधि हस्तान्तरण गरिरहेको छ । यसले गर्दा कृषक व्यावसायिक बन्न सक्छन्’,  उनले भने । तालिमका प्रशिक्षार्थी विनोद श्रेष्ठले ट्रयाक्टर मर्मत तालिमले सहज हुने बताए । शिवशिखर एग्रो प्रालि पोखराका दिनेश थापाले मर्मतसम्बन्धी सहजीकरण गरेका थिए ।