close

बाजुरा सदरमुकाममै भेटिए १० छाउ गोठ

बाजुरा सदरमुकाममै भेटिए १० छाउ गोठ

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको बडीमालिका नगरपालिकाको ८ नम्बर वडामा १० वटा छाउ गोठ भेटिएका छन् । सदरमुकाम मार्तडीमै रहेको नगरपालिकाको वडा नम्बर ८ मा १० वठा छाउ गोठ भेटिएका हुन् ।

 

बजारसँग जोडिएका गाउँमै छाउ गोठ भेटिएका हुन् । बडीमालिका नरपालिकालाई ०७८ भित्र छाउपडी गोठमुक्त गर्ने अभियान चलिरहेको छ । अभियानअन्तर्गत आइतबार सरोकारवाला निकायले वडा नम्बर ८ मा अनुगमन गर्ने क्रममा छाउ गोठ भेटिएका हुन् । नगरपालिकालाई छाउ गोठमुक्त बनाउने अभियानअन्तर्गत बेलाबेला छाउ गोठको अनुगमन गरिए पनि छाउ गोठ भेटिनुनले नगरको अभियान खासै प्रभावकारी हुन नसकेको स्थानीय बताउँछन् ।

 

बडीमालिका नगरपालिकाको छाउ गोठमुक्त अभियान हालसम्म सार्थक हुन सकेको छैन । नगरपालिकाले छाउ गोठ भत्काउने अभियान चलाइरहेको छ । अभियानमा सरोकारवाला निकाय र प्रहरीले गाउँमा रहेका ठूलो संख्याका छाउ गोठ भत्काइरहेका छन् । तर, छाउपडी प्रथा अझै हट्न सकेको छैन । यहाँका महिला आफंै रुढीवादी परम्परामा रहेका छन् । केही महिला छाउ भएका बेला गोठमा बस्न नचाहेर पनि घरको दबाबले बस्न बाध्य छन् भने केही देवता रिसाउने डरले गोठमै बस्ने गरेका छन् ।

 


बढीजसो देवता रिसाउने र देवता लाग्ने भ्रमले महिला आफ्नो ज्यान जोखिममै राखेर गोठमा बस्न बाध्य भएका छन् । बाजुरा सदरमुकामकै वडामा छाउ गोठ बढी छन् । सदरमुकामजस्तो ठाउँका वडामै छाउ प्रथा जीवित रहेपछि अभियान सफल नहुने देखिएको स्थानीय बताउँछन् । बडीमालिका नगरपालिकास्थित वडा नम्बर ८ मा छाउ भएका बेला बस्ने प्रत्येक समुदायका सामूहिक छाउ गोठ छन् ।

 


‘वर्षाको समय छाउ भएका बेला झनै बस्न गाह्रो हुन्छ । हिउँदको समयसमेत छाउ गोठमा बस्न निकै समस्या हुने गरेको छ’, वडा नम्बर ८ रावलबाडाकी गौरी रावलले भनिन् । उनका अनुसार भुइँमा सुत्नुपर्दा चिसोले साह्रै सताउँछ । असुरक्षित महसुस हुन्छ । किराफट्यांग्रा र सर्पको निकै डर हुन्छ । पराल बिछ्याएर सुत्ने गरेको उनको गुनासो छ । बडीमालिकाको ऐडी बाडाकी एक महिलाले भनिन्, ‘पहिलैदेखि देवता मान्दै आएका छौँ । छाउ भएका बेला नछुट्टिए देवता लाग्ने डरले छाउगोठ बनाएर बस्छौँ ।’ 

 


छाउ गोठ शिक्षितकै घरमा भेटिएको अनुगमनका क्रममा फेला परेको छ । ८ नम्बर वडामा बढीजसो कर्मचारी, सुरक्षाकर्मीका घरमा छाउ गोठ रहेका छन् । बडीमालिका नगरपालिकाको छाउ गोठमुक्त अभियानअन्तर्गत वडा नम्बर ८ लाई आउँदो २४ फागुनमा छाउ गोठमुक्त वडा घोषण गर्ने तयारी छ । 

 

छाउ गोठमुक्त वडा घोषणा गर्ने लक्ष्य तत्काल पूरा नहुने बडीमालिकाको महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले बताइन् । छाउगोठ मुक्त बनाउन गाउँमै चरणबद्ध रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । अनुगमनमा रोकाया, वडा सचिव सरिता ठगुन्ना, वडा सदस्य देवहादुर थापा, दलित महिला वडा सदस्य लुती नेपाली, सन्तोषी थापा, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सहभागी थिए ।