close

जुम्लामा नागरिकताधारी ७२ हजार, मतदाता संख्या ६९ हजार ३३५ 

जुम्लामा नागरिकताधारी ७२ हजार, मतदाता संख्या ६९ हजार ३३५ 

Trulli
ADVERTISEMENT

जुम्ला– आगामी निर्वाचनका लागि निर्वाचन आयोगदेखि राजनीतिक दल तयारीमा जुटेका छन् । राजनीतिक दल आ–आफ्ना पार्टीका भेलादेखि संगठन विस्तार गरी आगामी निर्वाचन जित्ने तयारीमा जुटेको देखिन्छन् । निर्वाचन आयोगजे पनि विभिन्न सरोकारवाला निकायसँग अन्तत्र्रिmया कार्यक्रम गर्दै आएको छ । 

 


जुम्लामा नागरिकता प्राप्त सबै नागरिकको मतदाता नामावलीमा नाम नभएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लाको जम्मा मतदाता संख्या ६९ हजार ३३५ छ भने जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त संख्या ७२ हजार छ ।

 

यो तथ्यांकलाई हेर्दा आगामी निर्वाचनमा नागरिकता प्राप्त गरेका ३ हजार बढी नागरिकले मतदान गर्न नपाउने भएका छन् । नयाँ ६ हजार २७१ जना मतदाता संख्या थपिएका छन् । गत ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो । महिला ३ हजार ४० र पुरुष ३ हजार २ सय ३१ जना गरी ६ हजार २७१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए ।

 

थपिएका ६ हजार २७१ सहित जुम्लामा मतदाता संख्या ६९ हजार ३३५ पुगेको छ । यीमध्ये महिला मतदाता ३३ हजार १३७ र पुरुष मतदाता ३६ हजार १९८ जना छन् । ‘स्थानिय तहको निर्वाचनको तयारीमा जुटिरहेका छाँै’, निर्वाचन अधिकारी शर्माले भने, ‘२४ माघभित्र मतदाता नामावलीमा दर्ता भएका तर २९ वैशाखसम्म १८ वर्ष पुगेका सबै नागरिकले मतदान गर्न पाउनेछन् । विगतमा यस्तो व्यवस्था थिएन । यो प्रारम्भिक तथ्यांक हो । आयोगमा पेस गरेका छौँ । नामावली अद्यावधिक गर्नुपर्छ । दोहोरिएका सच्याउनुपर्छ । पछि थपघट पनि हुन सक्छ ।’

 


जुम्लामा हालसम्म झन्डै ७२ हजार नागरिकले नागरिकता लिएका छन् । ‘नागरिकता लिएका सबै नागरिकको मतदाता नामावली हुनुपर्ने हो’, प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले भनिन्, ‘नागरिकता लिएकामध्ये ३ हजार नागरिक मात्रै मतदाता नामावलीबाट वञ्चित छन् । संकलन हुँदा बखत धेरै मानिस जाडो छल्न तराई झरेकाले पनि छुटेका हुन सक्छन् ।’ भौगोलिक विकटता तथा सूचना अभावले समस्या रहेको उनले बताइन् । जुम्लामा ३ थपसहित जम्मा ७९ वटा मतदान केन्द्र छन् ।