close

बेंसीसहरले बाँड्यो प्रहरीलाई ड्रोन क्यामेरा र ल्यापटप सामग्री

बेंसीसहरले बाँड्यो प्रहरीलाई ड्रोन क्यामेरा र ल्यापटप सामग्री

Trulli
ADVERTISEMENT

लमजुङ– बेंसीसहर नगरपालिकाले अपराध अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग गरेको छ । बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीलाई ड्रोन क्यामेरा र ल्यापटप हस्तान्तरण गरे ।

 

नगरपालिका प्रमुख अर्यालले समाजमा शान्ति–सुरक्षा कायम गर्न ड्रोन र कार्यालयको कामकाज सहज बनाउन ल्यापटप सहयोग गरिएको बताए । शान्ति–सुरक्षा भएन भने समाजमा स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारबाट नागरिक वञ्चित हुने हुँदा यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ । ड्रोनको व्यवस्था भए अपराध भएको स्थानबारे जानकारी पाउन सकिने र अपराधी उम्किन नसक्ने भएकाले सो सामग्री सहयोग गरिएको उनले बताए । ‘समाजमा विभिन्न अपराध भइरहेको हुन्छ । प्रहरीले ड्रोन प्रयोग गर्न सके अपराध गर्न खोज्नेहरू भाग्छन् । अपराध गरेकाहरू उम्किन पाउँदैनन् । यसले अपराध अनुसन्धानमा थप सघाउ गर्छ,’ उनले भने ।

 

अबको अपराध अनुसन्धान व्यवस्थित, वैज्ञानिक र अनुसन्धानमूलक हुनुपर्ने उनको भनाइ छ । प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले नगरपालिकाले अति आवश्यक सामग्री उपलब्ध गराएकामा धन्यवाद दिए । कार्यालयमा राम्रो ल्यापटप नहुँदा काम सम्पादनमा समस्या भएको र अपराध अनुसन्धानका क्रममा ड्रोन आवश्यक परेकाले नगरपालिकासँग सहयोग मागेको उनले बताए ।

 

प्रहरीको कामलाई थप गुणस्तरीय र प्रभावकारी बनाउनमा यसले सहयोग पुग्ने उनको धारणा छ । नागरिकको सेवामा तल्लीन रहेकाले समस्या परेका बेला २४ घन्टै जानकारी गराउन उनले आग्रह गरे । नगरपालिकाका अनुसार प्रहरी कार्यालयलाई १४ इन्चको डेल आई थ्री ल्यापटप र ड्रोन क्यामेरा प्रदान गरिएको हो ।

 

ड्रोन क्यामेरा ६० हजार १ सय ७६ रुपैयाँ ९९ पैसा र ल्यापटप ५५ हजार ३ सय १० रुपैयाँमा खरिद गरी प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले बताए । सहयोग सामग्रीले प्रहरीलाई कार्य सम्पादन र अपराध अनुसन्धानमा सघाउ पुग्ने उनको विश्वास छ ।