close

सरकारी कोटामा आरक्षण दिन हलियाको माग

सरकारी कोटामा आरक्षण दिन हलियाको माग

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर २ लुमामा रहेका हलियाले सरकारले आफूहरूका लागि आरक्षण कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन् । मधेसी र अन्य जातजातिलाई आरक्षण कोटा दिने तर हलियालाई नदिएर आफूहरूमाथि अन्याय गरेको उनीहरूको गुनासो छ । पीसविन बाजुराले वडा नम्बर २ लुमामा रहेका हलिया सवालका विषयमा गरेको छलफलमा उनीहरूले यस्तो माग राखेका हुन् ।

 

सरकारले मुक्त हलिया घोषणा गरे पनि हलियाको जीविकोपार्जनका लागि कुनै चासो नदिएको उनीहरूले दाबी गरे । लुमामा मात्र ३८ हलिया प्रमाणीकरण हुनबाट छुटेका छन् । प्रमाणीकरण हुन छुटेका हलियाको तथ्यांक लिनुपर्ने माग उनीहरूको छ । लुमामा रहेका ‘क’ वर्गका मुक्त हलिया मन्ने सार्कीले सरकारले घर बनाउने पैसा दिए पनि परिवार पाल्न अर्काको भारी बोक्नुपर्ने अवस्था रहेको गुनासो गरे ।

 

‘परिवार पाल्नैका लागि २ छोरालाई भारतमा काम गर्न पठाएको र म आफैंले दिनभरि भारी बोकेर बिहान–बेलुकाको खर्च टार्दै आएको छु’, उनले भने । ‘ग’ वर्गका शंकलाल सार्कीले सरकारले घर बनाउन पैसा दिएर हलियाको आँखामा छारो हाल्ने काम गरेको गुनासो गरे । ‘हलियाका लागि अहिलेसम्म कसैले चासो दिएनन् । हलियाको नाम बेचेर ठूलावडाले फाइदा लुटे’, उनले भने ।

 


वडा नम्बर २ का वडाध्यक्ष कर्णबहादुर विष्टले हलियाका समस्या समाधानका लागि गाउँपालिकाले विशेष पहल गरिरहेको दाबी गरे । उनले कार्यपालिका सदस्य रहेका हलिया अगुवाले कार्यपालिका बैठकमै आफ्ना माग राख्नुपर्ने बताए । वडा कार्यालयबाट हलिया लागि सिफारिस गरिरहेको उनको दाबी छ ।