close

धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाउँदै

धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाउँदै

Trulli
ADVERTISEMENT

धरान–धरान उपमहानगरपालिकाले २०७२ यता अनधिकृतरुपमा टहरा बनाएर बसेकालाई हटाउने निर्णय गरेको छ । धरान–१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृतरुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएकोे हो ।   

 

आइतबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए । सर्वपक्षीय बैठकले २०७२ सालपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती क्रमबद्धरुपमा हटाउने निर्णय गरेको उनको भनाइ थियो । 

 

उक्त कार्यको सुरुआत वडा नं १७ स्थित नयाँ अतिक्रमित क्षेत्रबाट गरिने भएको छ । धरान उपमहानगरपालिका वडा नं १७ देवीथान र कालापानीलगायत विभिन्न खोलाको किनारा, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्नेक्रम नरोकिएकाले स्थानीय राजनीतिक दलका पदाधिकारी तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागितामा उपमहानगरले छलफल गराएको थियो ।

 

 खुला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुग्नाका साथै नगरको सुन्दरता नै कुरुप हुनेगरी गरिएको अतिक्रमण हटाउनु पर्नेमा सबैले बैठकमा प्रतिबद्धता जनाएका थिए ।  सुकुम्बासीको  नाममा खुला क्षेत्र र खोला किनार अतिक्रमण गरी बस्ती बसाउने क्रम बढेको र उनीहरुलाई दलका नेताहरुले नै उक्साउने गरेको पाइएको बताइएको थियो ।