close

‘पार्टीहरुमा आन्तरिक लोकतन्त्रको खाँचो छ’

‘पार्टीहरुमा आन्तरिक लोकतन्त्रको खाँचो छ’

Trulli
ADVERTISEMENT

काठमाडौं–प्रमुख तीन राजनीतिक दलका युवा नेताले राजनीतिक दलहरुभित्रै आन्तरिक लोकतन्त्रको खोजी गर्न, राजनीतिमा सीमित वर्गको हालिमुहाली हुने प्रवृत्ति अन्त्य गर्न र राजनीतिलाई पेशाको रुपमा लिने परिपाटीे अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्  । फ्रेडरिक इबर्ट स्टिफ्टुङको आयोजनामा आगामी निर्वाचनले लोकतन्त्रलाई कसरी सवलीकरण गराउन सकिन्छ भन्ने छलफलमा उनीहरुले भूराजनीतिलाई ख्याल नगरी क्षणिक स्वार्थमा बहकिने प्रवृत्तिले मुलुकलाई दुर्घटनामा धकेल्न सक्ने र निर्वाचन प्रणाली महँगो हुन पुग्दा राजनीतिमा सीमित उच्च वर्गको प्रभुत्व भएको गुनासो गरे ।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिँह महरले आफ्नै पार्टीको १४औँ महाधिवेशनले ज्येष्ठ, युवा र नवयुवा गरी तीन पुस्ताको प्रतिनिधित्व गरेको र यसले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको नवीन सोचका आधारमा पार्टीलाई अझ गतिशील बनाउन सहयोग पुगेको बताए । 

 

उक्त महाधिवेशनमा आफूले कांग्रेसको सशक्तीकरण र भावी कार्यदिशकाका विभिन्न १४ वटा एजेण्डा अगाडि सारेको उल्लेख गर्दै उनले पार्टीको घोषणापत्रको पूर्ण कार्यान्वयनका लागि आफूले आवाज उठाउने प्रतिबद्धता जनाए । नेपाली कांग्रेसले २०१५ सालदेखि नै पार्टी र सरकारलाई समावेशी बनाएको उल्लेख गर्दै नेता महरले लोकतन्त्रसहितको विकासको पक्षमा कांग्रेस प्रतिबद्ध रहेको बताए । 

 

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले समाजवादलाई देशका सबै पार्टीले आफ्नो घोषणापत्रमा राखेको र संविधानमा पनि समाजवादोन्मुख अर्थतन्त्रमा जाने उल्लेख भए पनि अहिलेसम्म यस विषयमा कुनै बहस र छलफल नहुँदा जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताए। उनले भने, ‘समाजवादलाई ललिपप बनाइयो भने राजनीतिलाई जागिरको रुपमा लिने प्रवृत्ति बढ्दै गयो । यसले राजनीतिमा सीमित र उच्च वर्गको दबदबा बढ्दै गयो । नेता र सर्वसाधारण जनताबीचको दूरी टाढिँदै गएको छ ।’ नेता न्यौपानेले नेपालका राजनीतिक पार्टीका नेतृत्वमा स्वतन्त्ररुपमा निर्णय गर्नसक्ने क्षमता नभएको टिप्पणी गर्दै राजनीतिक नेतृत्वलाई औपचारिकताबाट वास्तविकतामा रुपान्तरण गर्न नसकिएसम्म मुलुकलाई अग्रगामी दिशातर्फ लैजान नसकिने बताए । 

 

नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले आफ्नो पार्टीमा पहिलो पुस्ताले आफूलाई लायक प्रमाणित गर्न नसकेको, दोस्रो पुस्ता असफल देखिएको र तेस्रो पुस्ता पनि राम्रो होला भनेर विश्वास गर्न सकिने अवस्था नरहेकाले आगामी दिनमा अझ समस्या आउनसक्ने बताए । उनले सबै पार्टीभित्र आन्तरिक लोकतन्त्रको खाँचो औँल्याउँदै सत्ता र शक्तिको भरमा राजनीति गर्न खोज्ने प्रवृत्ति अन्त्य नभएसम्म सामाजिक लोकतन्त्रको कल्पना गर्न नसकिने उल्लेख गरे । 

 

नेत्री तिमिल्सिनाले संविधानमा समावेशीकरणलाई बाध्यात्मक बनाए पनि राजनीतिक पार्टीहरुले त्यसलाई अझै आत्मसात् गर्न नसकेको र यसमा पनि सीमित वर्ग तथा समुदायले मात्रै अवसर लिने गरेको बताए । नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले केही समयअघि मुलुककमा प्रमुख राजनीतिक पार्टीको आन्तरिक निर्वाचनले संविधानलाई गतिशील बनाउन मद्दत पुग्नाको साथै राजनीतिक स्थायित्व, लोकतान्त्रीकरण र पार्टीभित्रको लोकतन्त्रलाई बल पुगेको बताए । 

 

उनले लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै राजनीतिलाई सही दिशातर्फ लैजान हरेक राजनीतिक पार्टीमा युवा पुस्ताले नेतृत्वलाई मार्गदर्शन गराउन सक्नुपर्ने धारणा व्यक्त गरे। आयोजक संस्थाका आवासीय प्रतिनिधि जोनाथन मेन्गे र वरिष्ठ कार्यक्रम अधिकृत चन्द्रदेव भट्टले सन् १९९५ देखि नै संस्थाले विश्वका सयभन्दा बढी देशका विश्वविद्यालय, राजनीतिक पार्टी, नागरिक समाजका पदाधिकारीसँग मिलेर स्वतन्त्रता, समानता र न्यायको पक्षमा वकालत गर्दै आएको बताए ।