close

त्रियुगा नगरको आठौँ नगरसभा : दूरगामी महत्त्वका योजनामाथि छलफल 

त्रियुगा नगरको आठौँ नगरसभा : दूरगामी महत्त्वका योजनामाथि छलफल 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिकाको आठौँ नगरसभाले दूरगामी महत्त्वका योजनामाथि छलफल गरेको छ । नगरप्रमुख बलदेव चौधरीले नगर क्षेत्रभित्रका ऐलानी, पर्ती रहेका जमिन र अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापन, त्रियुगालाई उप–महानगरको रूपमा स्तरोन्नति गर्ने कार्ययोजना, नगर क्षेत्रमा बिजनेस सेन्टरलगायत भौतिक संरचना निर्माणको लागि नगर विकास कोषबाट ऋण लिने, उदयपुर मेडिकल कलेज स्थापना र थ्रीपीपी मोडलमा सिमेन्ट उद्योग स्थापनालगायत दूरगामी महत्त्वका प्रस्ताव नगरसभाले पास गरेको जानकारी दिए । 

 

चालू आर्थिक वर्ष ०७८/७९ को बजेट कार्यान्वयनको चरणमा रहेको बताउँदै ऐलानी जग्गा व्यवस्थापन, जनतासँग मेयर कार्यक्रम, धुवाँरहित चुल्हो, आमाको स्वास्थ्य ठूलो, फोहोर व्यवस्थापनलगायत क्षेत्रमा काम भइरहेको उनले बताए । नगर प्रमुख चौधरीले विगत ५ वर्षका अवधिमा त्रियुगा नगरपालिकाले सम्पन्न गरेका प्रमुख कार्यलाई उपलब्धिको रूपमा लिएको बताउँदै समग्र आर्थिक अवस्थाबारे संक्षिप्त चर्चा गरे ।

 

१ साउन ०७४ मा कार्यभार सम्हालेका जनप्रतिनिधिले उज्यालो नगर कार्यक्रमअन्तर्गत प्रत्येक वडा तथा बस्तीमा विजुली बत्ती र सौर्य बत्ती पु¥याउनुका साथै नगर गौरवको योजनाको रूपमा, बेताल सिँचाइ योजना, बबिया खोला बाँध निर्माण, सुकौरा वडा कार्यालय, बेलदोभान सडक, सौर्य सडक बत्ती, उदयपुर गोल्डकप, कृषि बजार, त्रियुगा, बरुवा नदी नियन्त्रण, सडक कालोपत्रे, ग्राभेललगायत काम भएको सभामा जानकारी दिइयो ।

 

यस्तै, नगरपालिकाले थरुहट रंगशाला निर्माण, अभरमा नगरजस्ता विपद्मा राहत दिने कार्यक्रमबाट नगरबासीले प्रत्यक्ष रूपमा फाइदा लिएको दाबी नगरप्रमुख चौधरीको छ । ‘स्वस्थ, शिक्षित उद्यमशील हाम्रो सहर, समुन्नत समावेशी समृद्ध त्रियुगा नगर नारासहित विषय विज्ञद्वारा नगरको पञ्चवर्षीय आवधिक योजना तयार पारेका छौँ’, उनले भने ।

 

नगरले अपराधमुक्त समाज निर्माणका लागि नगरदेखि घरसम्म अभियान चलाउँदै आएको छ । बजार क्षेत्रमा आपराधिक गतिविधि न्यूनीकरण गर्न सिसिक्यामेरा जडान गर्ने काम भएको छ । एक वडा एक उत्पादन, सबै वडामा सहरी स्वास्थ्य क्लिनिक स्थापना गरिएको चौधरीले जानकारी दिए । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको पाँच वर्षे अवधिमा साना–ठूला गरी ३ हजार ५ सय योजना निर्माण सम्पन्न भएको उनले उल्लेख गरे । 

 

खानेपानी समस्या समाधान गर्न गाईघाट खानेपानी योजना सञ्चालनको तयारीमा रहेको सभामा जानकारी गराइएको थियो । कतिपय नगर गौरवका योजना संघीय सरकारले कानुन निर्माण नगरेका कारण सञ्चालन हुन नसकेको चौधरीले बताए । बेलदोभान रौता केबलकार, सौर्य ऊर्जा उत्पादनजस्ता आयोजना कानुन अभावमा सञ्चालन हुन नसकेको नगरसभामा चौधरीले जानकारी गराए । उनले कृषिमा यन्त्रीकरणले किसानको जीवनस्तर उकास्न मद्दत पुगेको बताउँदै कोभिड कहरमा पनि नगरबासीको साथ पाएको बताए ।

 

नगरप्रमुख चौधरीले भने, ‘स्थानीय शासन प्रणालीलाई संस्थागत गर्न, शासकीय क्षमता अभिवृद्धि गरी स्थानीय सरकारको अनुभूति गराउन क्षेत्राधिकारभित्र रहेका विभिन्न विषयसँग सम्बन्धित ११ वटा ऐन, ४७ वटा नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड बनाएर काम गरेका छौँ ।’ जनप्रतिनिधि निर्वाचित हुनुअघि त्रियुगा नगरपालिकाको आन्तरिक आम्दानी २ करोड ५७ लाख रहेकामा जनप्रतिनिधि आएपछि ५ वर्षमा आन्तरिक आम्दानी ११ करोड रुपैयाँ पुगेको छ ।