close

अतिक्रमित घरटहरा भत्काउँदै धरान उपमहानगर

अतिक्रमित घरटहरा भत्काउँदै धरान उपमहानगर

Trulli
ADVERTISEMENT

सुनसरी– सुनसरीको धरान उपमहानगरले २०७२ यता घरटहरा बनाएर बसेकालाई हटाउने निर्णय गरेको छ । धरान वडा नम्बर १७ स्थित सर्दुखोला किनार आसपास क्षेत्रमा अनधिकृत रूपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएकोे हो ।

 

आइतबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको धरान उपमहानगर प्रमुख तिलक राईले बताए । सर्वपक्षीय बैठकले ०७२ पछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती हटाउने निर्णय गरेको उनको भनाइ छ । 

 


वडा नम्बर १७ स्थित नयाँ अतिक्रमित क्षेत्रबाट अतिक्रमण हटाइने भएको छ । धरान उपमहानगर वडा नम्बर १७ देवीथान र कालापानीलगायत विभिन्न खोला किनारा, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्ने क्रम नरोकिएकाले स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायकाको सहभागितामा उपमहानगरले छलफल चलाएको थियो । 

 

खुला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुग्नुका साथै नगरको सुन्दरता नै कुरुप हुने गरी गरिएको अतिक्रमण हटाउनुपर्नेमा सबैले बैठकमा प्रतिबद्धता जनाएका थिए । सुकुम्बासीको नाममा खुला क्षेत्र र खोला किनार अतिक्रमण गरी बस्ती बसाउने क्रम बढेको र उनीहरूलाई दलका नेताहरूले नै उक्साउने गरेको पाइएको छलफलमा सहभागीले बताए ।