close

कुश्मामा सघन सहरी विकास परियोजना 

कुश्मामा सघन सहरी विकास परियोजना 

Trulli
ADVERTISEMENT

पर्वत–पर्वतको कुश्मा नगरपालिकामा सघन सहरी विकास कार्यक्रम सुरु भएको छ । सहरोन्मुख कुश्मा नगरपालिकाको भौतिक पूर्वाधार विकास र आयआर्जनमूलक पूर्वाधार विकासका लागि कार्यक्रम सुरु भएको हो ।

 

कुश्मा नगरपालिका र सघन सहरी विकास तथा भवन निर्माण विभागसँग कार्यक्रम सञ्चालनका लागि दुईपक्षीय सम्झौता भएको छ । सघन सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनाली र कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीबीच सम्झौता आदान–प्रदान भएको हो ।

 

कुश्मा नगरपालिकाले अधिकांश कच्ची सडकलाई पक्की बनाउने योजना अगाडि सारेको छ । कुश्मा नगरपालिकाको १४ वटै वडामा पक्की सडक बनाउन ‘एक गाउँ एक पक्की सडक’ अवधारणासहित परियोजना सञ्चालन गरिने नगरप्रमुख जोशीले बताए । गत वर्ष सदरमुकाम कुश्मा बजारको भित्री तथा बाहिरी चक्रपथ कालोपत्रे गरेको नगरपालिकाले ग्रामीण सडकमा ध्यान नदिएको नगरबासीको गुनासो छ ।

 

परियोजना ग्रामीण क्षेत्रमा केन्द्रित गर्ने सोचमा रहेको नगरप्रमुख जोशीको भनाइ छ । कार्यक्रमका लागि ५० करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त हुने भएको छ । चालू वर्ष योजना सुरु भए पनि अधिकांश योजना बहुवर्षे कार्यक्रममा समावेश हुनेछन् ।

 

सहरोन्मुख कुश्मामा आवश्यकताका आधारमा योजना छनोट गरी कार्यक्रम सञ्चालन गरिने उपप्रमुख सीता काफ्ले लामिछानेले जानकारी दिइन् । कुश्मामा बसपार्क निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत योजना अगाडि बढाउन नगरपालिकाले सिफारिस गरेको छ । 

 

सिटीहलसहितको बसपार्क निर्माण गर्ने गुरुयोजना भए पनि चालू वर्ष १० करोड रुपैयाँ मात्र बजेट प्राप्त भएकाले उक्त बजेटमार्फत काम सुरु गर्न कार्यालयलाई नगरपालिकाले सिफारिस गरेको हो । सिटीहलसहित बसपार्क निर्माण गर्न ७५ करोड रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । बहुवर्षे योजनामा समावेश भएको सिटीहलसहित बसपार्क निर्माण गर्ने भन्दै कुश्माले गौरवको योजनाको रूपमा अगाडि सारेको छ ।