close

कृषि पेसाबाट आत्मनिर्भर बन्दै अगुवा किसान खत्री

कमाउँछन् वार्षिक करोड 

कृषि पेसाबाट आत्मनिर्भर बन्दै अगुवा किसान खत्री

कमाउँछन् वार्षिक करोड 

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लीको पहिचान भनेकै यहाँ उत्पादित स्याउ, ओखर हो । स्याउ, ओखरबाट जुम्लालाई विश्वसामु पहिचान गराउनेमध्ये अगुवा किसान शंखु खत्री हुन् । पछिल्लो समय उनी कृषि पेसाबाटै आत्मनिर्भर बनेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० गैरागाउँका खत्री अहिले ३२ हजार वर्गमिटर क्षेत्रफलमा स्याउ, ओखर खेती गर्दै आएका छन् । 

 

नमुना किसानका रूपमा दर्जनौँ राष्ट्रिय पुरस्कारबाट पुस्कृत भइसकेका किसान खत्रीले जुम्लामा ओखर खेती विस्तार गरी स्थानीयको आर्थिक स्थिति सुधार गर्ने लक्ष्य राखेका छन् । उनले ओखरका बिरुवादेखि दाना बिक्री गर्दै आएका छन् ।

 

उनले स्याउ खेती पनि गरिरहेका छन् । स्याउ र ओखरबाट उनले वार्षिक ८० लाखदेखि १ करोडसम्म आम्दानी गर्दै आएका छन् । ०२४ मा उनकै गाउँ गैरागाउँमा स्याउको बागवानी फार्म स्थापना भयो । बागवानी स्थापना भएपछि त्यतिबेला उनका बुबा कार्यालय सहयोगीका रूपमा जागिरे थिए ।

 

घर नजिकै स्याउको बागवानी फार्म र त्यही फार्ममा बुबा जागिरे भएपछि त्यहाँ बाबुसँग जाने आउने मौका पाए । बुबासँग स्याउको फार्ममा जाने बस्ने मौका पाएपछि स्याउ, ओखरको काम गरेको देखासिकीले नै स्याउ, ओखर खेतीमा आकर्षण बढेको उनी सुनाउँछन् । ‘पहिलो थोरै जमिनमा स्याउका बिरुवा रोपेर खेती सुरु गरेको हुँ’, उनले भने, अहिले ३२ हजार वर्गमिटर क्षेत्रफल जमिनमा स्याउ, ओखर खेती गर्दै आएको छु ।’ 

 


एउटै जातको ओखरमा विभिन्न जातको ओखर फलाउन अनुसन्धान गरिरहेको उनले बताए । एउटै बोटमा धेरै जातका ओखर फलाउने गरी कलमी गरेका छन् । सबै कलमी बिरुवा अहिले राम्रोसँग हुर्किएका छन् । किसान शंखुले भने, ‘व्यावसायिक ओखर खेतीले मात्र कर्णालीको आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । ओखर खेतीमा खासै परिश्रम पनि लाग्दैन । जुम्लामा ओखर खेतीको राम्रो सम्भावना छ ।’ 

 

एक बोटको झुप्पोमा एक दानादेखि १५ दानासम्म ओखर फलाउन सकिने उनको अनुसन्धानले देखाएको छ । बगैँचामा तीन जातको ओखर मात्र सरकारले सिफारिस गरेको लगाएको उनको भनाइ छ । ३० जातका ओखरको अनुसन्धान आफैं गरेको उनले सुनाए ।

 

‘अनुसन्धान गरेको ओखरको नाम दिन सकिएको छैन’, उनले भने, ‘तर अनुसन्धान गरेर फलेको ओखर निकै राम्रो छ । ओखर फल्ने समय यसको राम्रो लाग्यो ।’ शंखुले न ओखर खेतीबारे अध्ययन गरेका छन्, न त यसबारे कुनै तालिम लिएका छन् । बगैँचामा रोपिएका ओखरको बिउसँग खेल्दाखेल्दै उनी अनुसन्धानकर्ता भएका हुन् ।

 

उनले गरेको अनुसन्धानको सबै क्षेत्रमा प्रशंसा पाइरहेको छ । शंखुको बगैँचा हेर्न सरकारी वैज्ञानिकदेखि किसानसम्म पुग्छन् । ओखर खेती गर्न चाहनेका लागि बगैँचा पाठशाला भएको छ । किसान आएर ओखरको बेर्ना हेर्छन् । ओखरको फल लागेको नियाल्छन् । ओखर खेतीमा व्यावसायिक रूपमा लाग्ने इच्छा बोकेर फर्किन्छन् । 

 

शंखुको ओखर बगैँचामा ओखर सुपरजोन जुम्लाका प्रमुख गंगा पोखरेल पुगिन् । उनी बगैँचामै पुगेर शंखुले ओखर खेतीमा बगाएको पसिना र गरेको अनुसन्धान देखेर उत्साहित भइन् । ओखर बगैँचाको अवलोकन गरेर फर्किइन् । शंखुबहादुरले भने, ‘विभिन्न थरीका अनुसन्धान देखाएँ । बगैँचामा पुगेका किसानलाई ओखर खेतीबारे सहजीकरण गरिरहेको छु । ओखर बगैँचामा किसान, अनुसन्धानदाता र सरोकारवालाको उपस्थिति देख्न पाउनु सौभाग्य हो ।’

 

उनले ओखर खेतीबारे हाते पुस्तकसमेत प्रकाशित गरेका छन् । बगैँचाभित्रको माटो परीक्षण गरेर प्रमाण राखेका छन् । तातोपानी, गुठीचौर, हिमा गाउँपालिका र चन्दननाथ नगरपालिकाका किसानलाई झन्डै १ सय ओखरका बिरुवा उपलब्ध गराएको उनले बताए । झन्डै जीवातु र ओखर गरेर १ लाख रुपैयाँ बराबरको बिरुवा किसानलाई निःशुल्क दिएको उनी सुनाउँछन् ।

 


१ सय कामदार लगाएर बगैँचाको सरसफाइदेखि व्यवस्थापन गरेर चिटिक्क बनाएका छन् । बगैँचामा फल्ने रुख ओखर र सानो बेर्नासमेत उमारिएको छ । रुखबाट फलेको ओखर प्रतिदाना १० रुपैयाँमा बेच्दै आएको उनले बताए । बेर्नाबाट प्रतिबिरुवा ७ सय रुपैयाँमा बेच्छन् । अहिले उनको बगैँचामा ३ हजार ओखरका बिरुवा छन् । शंखुका अनुसार ३ हजार बिरुवाको मूल्य झन्डै २१ लाख रुपैयाँ पर्छ । ११ हजार ओखरका बिरुवा बिक्री गरिसकेको उनले जानकारी दिए ।

 


उनले भने, ‘ओखर बिरुवा किन्न व्यापारी बगैँचामै पुग्छन् । बिरुवा छानेर लगिरहेका छन् । किसान बगैँचामै पुगेर विरुवा लग्छन् । प्राविधिक ज्ञान लिएर फर्कन्छन् ।’ शखुंको बगैँचा ओखर खेती गर्न चाहनेका लागि प्रेरणाको स्रोत बनेको छ । यहाँको बिरुवा हुम्ला, मुगु, लुम्बिनी प्रदेशबाट समेत माग भइरहेको छ । बगैँचामा १४ सय ओखरका बिरुवा लगाइएको छ ।

 


यीमध्ये ३ सय बोटले फल दिन थालेका छन् । गत वर्ष ५० हजार ओखरका दाना बेचेको शंखुबहादुरले सुनाए । जुम्लामा रहेको बागवानी अनसुन्धान केन्द्र वैज्ञानिकविहीन छ । ओखरको अनुसन्धान अघि बढ्न सकेको छैन । ओखर खेती गर्न चाहनेदेखि ओखर खेती बारे चासो राख्ने सबै उनको बगैँचामा पुग्छन् ।

 

किसानलाई बगैँचा व्यवस्थापन गर्ने, खाडल खन्ने, बिरुवा रोप्ने, मलखाद व्यवस्थापन, सिँचाइ, घेराबारलगायत विषयमा परामर्श दिएर पठाउने गरेको उनले सुनाए । स्याउ सुपरजोनकी प्रमुख गंगा पोखरेल ओखर खेतीले किसानलाई राहत मिलेको बताउँछिन् । कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी जुम्लामा स्याउ ओखर, खेतीको सम्भावना राम्रो भएकाले शंखुको उत्प्रेरणाले पनि जुम्ली युवा कृषिमै होमिनुको विकल्प नरहेको बताउँछन् ।