close

बागलुङको दुर्गम गाउँमा मोबाइल सेवा

बागलुङको दुर्गम गाउँमा मोबाइल सेवा

Trulli
ADVERTISEMENT

बागलुङ– केही समयअघिसम्म निसीखोला गाउँपालिका वडा नम्बर १ देवीस्थानस्थित पाखापानी, तोरीखर्क, किटेनी, बराहचौर, सात्ले, स्वाँरा, डाँडागाउँ, पुर्नगाउँका स्थानीय मोबाइल सेवाको पहुँचमा थिएनन् ।

 

गाउँलेलाई सूचना आदान–प्रदान गर्न सम्बन्धित ठाउँमा घन्टौँ लगाएर धाउनुपर्ने बाध्यता थियो । मोबाइल सेवा नहुँदा निसीखोला गाउँपालिका वडा नम्बर १ देवीस्थानस्थित पाखापानी, तोरीखर्क, किटेनी, बराहचौर, सात्ले, स्वाँरा, डाँडागाउँ, पुर्नगाउँका झन्डै ५ सय घरधुरीले समस्या झेल्दै आएका थिए ।

 

अहिले नेपाल टेलिकमले उक्त गाउँको लेबाङमा १२ मिटर अग्लो टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याएपछि स्थानीयले सञ्चार सुविधा पाएका हुन् । टेलिकमले दुर्गम गाउँलाई लक्षित गरी सेवा सञ्चालनमा ल्याएको टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले बताए ।

 

टेलिकमले टुजीमार्फत भ्वाइस सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ । ‘मोबाइल सेवा सुरु भएसँगै स्थानीयलाई सहज भएको छ’, शर्माले भने, ‘यसअघि यो स्थानमा कुनै पनि मोबाइल सेवा थिएन । स्थानीय सञ्चारको पहुँचमा नहुँदा समस्या भोग्दै आएका थिए ।’ छिट्टै अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनको तयारी भइरहेको शर्माले बताए । सेवा नपुगेको ठाउँमा पहुँच विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकताअनुरूप स्तरोन्नति गरिने टेलिकमले जनाएको छ ।

 

 

मोबाइल सेवा नहुँदा स्थानीयले परेको अप्ठेरो हटाउन टेलिकमसँग समन्वय गरेपछि टावर जडान भएको समाजसेवी भरत पुनले बताए । ‘पहिले डाँडाकाँडातिर पुगेर फोन गर्नुपर्ने बाध्यता थियो । अहिले टावर निर्माणपछि घरमै बसेर कुराकानी गर्न पाउँदा सहज भयो’, लेबाङका मनिलाल बुढा मगरले भने ।

 

मोबाइल सेवा सञ्चालनमा आएपछि निसीखोला गाउँपालिका वडा नम्बर १ देवीस्थानको साविक वडा नम्बर ३ र ४ का ५ सय बढी घरधुरी लाभान्वित भएको स्थानीय श्रीप्रसाद विश्वकर्माले बताए ।