close

हत्या आरोपी सिंह ३१ वर्षपछि पक्राउ

हत्या आरोपी सिंह ३१ वर्षपछि पक्राउ

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुरा प्रहरीले हत्या गरी फरार भएका आरोपी मीनबहादुर सिंहलाई ३१ वर्षपछि पक्राउ गरेको छ । हत्या गरी फरार रहेका सिंहलाई प्रहरीले कैलालीको धनगढीस्थित सन्तोष होटलबाट १५ फागुनमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझाले जानकारी दिए ।

 

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ का शंकर धामीको हत्यापछि फरार रहेका सोही ठाउँका मीनबहादुर सिंहलाई ३१ वर्षपछि पक्राउ गरिएको उनले बताए ।


डिएसपी ओझाका अनुसार स्थानीय जगतबहादुर सिंह र शंकर धामीबीच दोहोरो झडप भएको थियो । स्थानीयको झडपमा जगतबहादुर पक्षका १२÷१३ जनाले शंकर धामीलाई डोरीले बाँधेर कुटपिट गरिरहेको अवस्थामा मीनबहादुर सिंहले आफ्नो हातमा रहेको भंैसी बाँध्ने काठको किलाले धामीको टाउकोमा हानेका थिए ।

 

टाउकोमा गहिरो चोट लागेपछि बेहोस अवस्थामा लडेका धामीलाई सिंहले पुनः हँसियाले टाउकाको दाहिने कञ्चट र काखमुनि प्रहार गरी हत्या गरेको अनुसन्धानपछि खुलेको प्रहरीले जनाएको छ ।


सुराकीका आधारमा ३१ वर्षपछि पक्राउ परेका मुख्य अभियुक्त सिंहलाई जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । सिंहसहितका दर्जन बढी स्थानीयले ५ असोज ०४८ मा धामीको हत्या गरेको प्रहरी नायब उपरीक्षक ओझाले बताए ।

 

भैंसीले कोदोबाली खाई नोक्सान गरेको रिसले शंकर धामीको हत्या भएको थियो । हत्यामा संलग्न अन्य प्रतिवादीले प्रकृतिअनुसार कैद सजाय भोगिसके पनि आरोपी सिंह फरार थिए । धामीको शरीर नै टुक्रा पारेर यातनासहित हत्या गर्ने अभियुक्त सिंहलाई सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको छ । प्रतिवादी सिंह लुकीछिपी बस्दै आएको सुराकीका आधारमा कैलाली प्रहरीको सहयोगमा धनगढीस्थित सन्तोष होटलबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक ओझाले जानकारी दिए ।