close

दैलेखको भगवतीमाई पालिकाका सबै वडामा राष्ट्रिय प्रसारण लाइनको पहुँच

दैलेखको भगवतीमाई पालिकाका सबै वडामा राष्ट्रिय प्रसारण लाइनको पहुँच

Trulli
ADVERTISEMENT

दैलेख–दैलेखको भगवतीमाई गाउँपालिकाका सबै वडामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । दुई वर्षअघि गाउँपालिकाको केन्द्र बेस्तडामा पुर्‍याइएको  राष्ट्रिय प्रसारण लाइन पालिकाका ६ वटै वडामा जडान गरिसकिएको र त्यसको परीक्षण थालिएको पालिका अध्यक्ष दानबहादुर थापाले बताए ।

 

उनका अनुसार विद्युत् प्राधिकरण दैलेख वितरण केन्द्रले ठेक्कामार्फत गाउँपालिकाको वडा नम्बर १ हुलाक टाकुरासम्म राष्ट्रिय प्रसारण विस्तार गरेको र त्यहाँबाट पालिकाको केन्द्र बेस्तडा बजारसम्म पालिकाकै लगानीमा विद्युत् पोल विस्तार गरेपछि अहिले प्रत्येक वडामा बत्ती बल्न थालेको हो ।

 

गाउँपालिकामा रहेका ७ मध्ये ६ वटामा राष्ट्रिय प्रसारण लाइन जोडिएको र एक वडामा विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखमार्फत ठेक्का लगाएर काम भइरहेको अध्यक्ष थापाले बताए । सामुदायिक विद्युतीकरण र गाउँपालिकाको सह– लगानीमा ६ वटा वडा र विद्युत् प्राधिकरणको सहयोगमा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको उनले जानकारी दिए ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले पालिकाका सबै वडामा विद्युत् विस्तारको काम सकिएसँगै उपभोक्ताको मागअनुसार ट्रान्समिटर थप्ने र मिटर जडान गरिने बताए । उनले भने, ‘तत्कालका लागि २ हजार ५ सय मिटर ठेकेदारलाई बुझाउन ताकेता गरेका छौँ । आउनेबित्तिकै वितरण गर्छौं ।’ भगवतीमाई पालिकामा साना जलविद्युत् आयोजना निर्माण भए पनि बन्द हुँदा त्यस क्षेत्रका बासिन्दा लामो समयदेखि अन्धकारमा बस्न बाध्य थिए ।