close

नागरिकका गुनासा सुन्न गाउँ चहार्दै सुनसरीका सिडिओ

नागरिकका गुनासा सुन्न गाउँ चहार्दै सुनसरीका सिडिओ

Trulli
ADVERTISEMENT

सुनसरी–सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव नागरिकको गुनासो सुनुवाइ गर्न जिल्ला दौडाहा अभियानमा निस्किएका छन् । जिल्लाका नगरपालिका तथा गाउँपालिका र पालिका मातहतका वडा कार्यालयले सेवाग्राहीलाई सेवा कसरी दिइरहेका छन्, विकास निर्माणको अवस्था के छ, स्थानीयले सहज रूपमा सेवा पाएका छन् कि छैनन्, जनप्रतिनिधिले सेवा प्रवाहमा पक्षपात गरेका छन् कि छैनन्लगायत विषयमा वडामै पुगेर नागरिकसँग प्रत्यक्ष अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।

 

त्यसैगरी वडा कार्यालय, नगरपालिका तथा गाउँपालिका र जिल्ला प्रशासन कार्यालयसँगै जोडिएका स्थानीयको गुनासाबारे पनि अन्तत्र्रिmया कार्यक्रममा छलफल गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

 

सुनसरीका २ उपमहानगर, ४ नगरपालिका र ६ गाउँपालिका गरी १२ वटा स्थानीय तहका १ सय २४ वटै वडा पुगेर नागरिकका गुनासो सुन्ने कार्यक्रम रहेको प्रजिअ यादवले जानकारी दिए । जिल्लाका सबै वडामा पुगेर नागरिकका गुनासो सुन्ने र समस्या समाधानका लागि पहल गर्ने कार्ययोजना बनाई प्रमुख जिल्ला अधिकारी गाउँ–गाउँमा निस्किएका हुन् । सोही क्रममा बुधबार देवानगन्ज गाउँपालिकामा पुगेर स्थानीयको गुनासो सुन्नुका साथै सुझाव संकलन गरे ।

 

प्रजिअले सम्बन्धित कार्यालयलाई पारदर्शी र सुशासन कायम गरी गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिए । स्थानीयका गुनासा सम्बोधनका लागि तत्कालै पहल गरिने उनको भनाइ छ । विकास निर्माणको काममा गुणस्तरलाई ध्यानमा राख्न प्रजिअ यादवले जनप्रतिनिधिलाई आग्रह गरे । वडाबाट जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राही कागजपत्र अपूरो भएको भन्दै फर्काइने गरेकाले सेवाको प्रकृतिअनुसार आवश्यक पर्ने कागजपत्र र प्रक्रियाबारे जानकारी गराउन उनले जनप्रतिनिधिलाई आग्रह गरे ।

 

संघीय, प्रदेश र स्थानीय तहका कार्यालयसम्बन्धी कुनै गुनासो समस्या स्थानीय स्तरमा सरोकारवालाको भेलामार्फत बुझ्ने र समाधानका लागि समन्वय गरिने प्रजिअ यादवले बताए । हालसम्म इटहरी उपमहानगरको खनार, धरान उपमहानगरभित्रका खोला अतिक्रमणबारे छलफल र देवानगन्ज गाउँपालिकाको सडक अतिक्रमण हटाउने विषयमा छलफल भएको उनले जानकारी दिए ।