close

पाँचखाल सहरी विकास आयोजनालाई ५० करोड

पाँचखाल सहरी विकास आयोजनालाई ५० करोड

Trulli
ADVERTISEMENT

काभ्रे–काभ्रेको पाँचखाल नगरपालिकामा सहरी विकास कार्यक्रम सञ्चालन गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत पाँचखाल नगरलाई उक्त बजेट विनियोजन गरिएको हो ।

 


मन्त्रालयले सो कार्यक्रमका लागि छनोट गरेका देशका ४४ नगरमध्ये पाँचखाल नगर पनि परेको हो । पाँचखाललाई प्राप्त ५० करोड रुपैयाँ बजेटमा ५० प्रतिशत सडक, ३० प्रतिशत आयआर्जन र १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा ५ प्रतिशत रकम शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्नेछ ।

 


निर्धारित कार्यक्रमअन्तर्गत बुधबार मन्त्रालयका प्रतिनिधि, नगर तथा विभिन्न दलका प्रतिनिधिको बैठकद्वारा योजना कार्यान्वन गर्नेबारे सहमति भएको छ । योजना संकलनका लागि सरोकारवाला निकायबीच छलफल भइरहेको नगरप्रमुख महेश खरेलले बताए ।

 


उनका अनुसार कार्य सम्पादन मूल्यांकनका आधारमा नगरपालिका सो कार्यक्रमका लागि छनोट भएको हो । ‘स्मार्ट सिटी’का लागि प्रक्रिया थालिएको पाँचखाललाई यस कार्यक्रमको बजेटले थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ । ‘स्मार्ट सिटीका लागि सघन सहरी विकास कार्यक्रमले ठूलो मद्दत गर्नेछ,’ उनले भने ।

 


फागुन पहिलो साता पाँचखाल नगरमा विकास गरिने स्मार्ट सिटीको सिंगापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरसँग गत साउनमा सम्झौता गरेको काठमाडौंस्थित इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सिंगापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इन्टरनेसनल प्रालि (एसएमइसी)बीच स्मार्ट सिटी निर्माणार्थ प्रयोजनका लागि यसै साता सम्झौता भएको हो ।

 

 

समझदारीपत्रमा सिंगापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित काभ्रेपलाञ्चोकको पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रिय स्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने जनाइएको छ ।


यसका लागि निफ्राले आवश्यक सहजीकरण गर्नेछ भने पाँचखाल नगरले स्थानीयसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्ने बताइएको छ । निफ्राले स्मार्ट सिटीको बजार अध्ययनका लागि अमेरिकी परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस् प्रालि (जेएलएल) नामक कम्पनीसँग गत माघ तेस्रो साता सम्झौता गरिसकेको छ ।

 


निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ । करिब ५ हजार ५०० रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले पाँचखाल नगरसँग गत १२ साउनमा सार्वजनिक–निजी साझेदारीमा सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

 


सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदा उल्लेख गरिएको छ । उक्त क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माण गर्न करिब २ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।

 


कुल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ । निफ्राले पाँचखाल स्मार्ट सिटी विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय तथा सरोकारवालासँग छलफलसमेत गरेको जनाइएको छ । ‘ल्यान्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काम सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख खरेलले बताए । उनका अनुसार निफ्राले पाँचखाल स्मार्ट सिटीका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिइरहेको छ ।