close

अन्तिम मतदाता नामावली : पुरुषभन्दा महिला कम, आयोगले तोक्यो मतदान केन्द्र

अन्तिम मतदाता नामावली : पुरुषभन्दा महिला कम, आयोगले तोक्यो मतदान केन्द्र

Trulli
ADVERTISEMENT

निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । अन्तिम नामावली अनुसार आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता पुगेका हुन् । यो विगतको भन्दा झण्डै ३७ लाखले बढी हो । 

 

२०७४को स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको हो ।

 

आयोगले जिल्लाबाट मतदाताको संख्या संकलन गरेर त्यसउपर छलफल, दावी विरोध र सच्याउने अवसर दिएर मतदाताहरुको अन्तिम नामावली तय गरेको हो । २०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या एक करोड ५४ लाख थियो । २०७४ सालमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधारमा भने २३ लाख मतदाता बढेका छन् ।

 

महिला मतदाता किन कम भए ? 

स्थानीय निर्वाचनका मतदातामा पुरुष भन्दा महिलाको संख्या कम छ । ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् । अर्थात, पुरुषभन्दा २ लाख ५० हजार ४८० जना कम महिला मतदाता छन् ।

 

जबकी राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार कुल जनसंख्यामा पुरूषभन्दा महिला धेरै छन् । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

 

जसमध्ये महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ छ । अर्थात, कूल जनसंख्यामा पुरुषभन्दा महिलाको संख्या ६ लाख ९ हजार ८५८ ले बढी छ ।


मतदान केन्द्र तोकियो

स्थानीय तह चुनावमा देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ । निर्वाचन आयोगले १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहने जनाएको हो । एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् ।

 

सबैभन्दा धेरै मधेस प्रदेशमा ४ हजार १८९ मतदान केन्द्र रहने जनाएको छ । यस्तै सवैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५ वटा मतदान केन्द्र रहने छन् ।

 

बागमती प्रदेशमा ४ हजार ९५, प्रदेश १ मा ४ हजार ५१, लुम्बिनी प्रदेशमा ३ हजार ८३२, गण्डकी प्रदेशमा २ हजार ३०० र सुदूरपश्चिम प्रदेशमा २ हजार १०३ वटा मतदान केन्द्र रहने आयोगले जनाएको छ ।