close

एन्फाको विवाद उत्कर्षमा, खेलाडी र प्रशिक्षक हतियारका रूपमा प्रयोग हुँदै

१० खेलाडी बाहिरिए, १७ थपिए

एन्फाको विवाद उत्कर्षमा, खेलाडी र प्रशिक्षक हतियारका रूपमा प्रयोग हुँदै

१० खेलाडी बाहिरिए, १७ थपिए

Trulli
ADVERTISEMENT

काठमाडौँ । बन्द प्रशिक्षणमा रहेका १० जना खेलाडीको असहयोगपछि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १७ जना नयाँ अनुहारलाई मौका दिने निर्णय गरेका छन् ।

 

यसअघि २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइए पनि रोहित चन्द लगायत १० जना खेलाडी प्रशिक्षक अल्मुताइरीसँगको विवादपछि टोलीबाट बाहिरिएका छन् ।

 

प्रशिक्षकसँगको विवादमा खेलाडीको पक्षमा बोलेका कप्तान किरण चेम्जोङलाई समेत अल्मुताइरीले टोलीमा नराख्ने सङ्केत दिएका छन् । उनले अनुभवी गोलकिपर विकेश कुथुलाई बन्द प्रशिक्षणमा बोलाए पछि कप्तान परिवर्तन हुने सङ्केत देखिएको हो ।

 

खेलाडीहरूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मानसिक रूपमा दबाब दिने गरेको भन्दै एसिया कप छनोटको तयारीमा रहेका १० जनाले बन्द प्रशिक्षण छाडेका हुन् ।

 

उता खेलाडी र प्रशिक्षक बिच विवाद बढ्न थालेपछि शुक्रवार नै एन्फाका तीन उपाध्यक्ष र एक सदस्यसहित चार जनाले तत्काल कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।

 

राष्ट्रिय फुटबल टिमका खेलाडी र मुख्य प्रशिक्षकबिच उत्पन्न विवाद अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्कासहित केन्द्रीय सदस्य दावा लामाले बैठक माग गरेका हुन् ।

 

यो विषयमा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल गर्ने कुरा भए पनि भेट नभएपछि एन्फामा पत्र नै दर्ता गरेको वरिष्ठ उपाध्यक्ष नेम्वाङ बताउँछन् ।

 

कार्य समितिका केही सदस्यले राजीनामा दिइसकेको हुँदा हाल कायम पदाधिकारी मध्ये एक तिहाइले बैठक माग गरेकोले कार्यसमिति बैठक बस्नुपर्ने बताए ।

 

एन्फाको आसन्न निर्वाचनमा अध्यक्ष शेर्पाविरुद्ध मोर्चा बन्दी गर्ने क्रमका रूपमा खेलाडी र प्रशिक्षक बिच विवाद बढाइएको जानकारहरू बताउँछन् । प्रशिक्षक अल्मुताइरीलाई अध्यक्ष शेर्पाको साथ छ भने उनलाई आगामी अधिवेशनमा टक्कर दिने योजनामा रहेका नेम्वाङलाई कप्तान चेम्जोङसहित खेलाडीहरूको समर्थन रहेको छ ।

 

थप गरिएका खेलाडीको सूची :

 

विकेश कुथु, विशाल सुनार, अभिषेक बराल, आकाश बुढा मगर, आशि चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष गर्जा मगर, निर कुमार राई, राजन गुरुङ, रोशन राना मगर, रूप बहादुर लामा, संजोक राई, सेसेहाङ आङदाम्बे, शिव गुरुङ, सुनिल राई, सुशील राई