close

बुटवलको विकासका लागि एमालेको सात संकल्प

बुटवलको विकासका लागि एमालेको सात संकल्प

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पसहित एमालेका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जित हासिल गरेको खण्डमा सुरु भइसकेका महत्त्वपूर्ण आयोजनालाई निरन्तरता दिँदै बुटवलको विकासका लागि थप सात संकल्प अघि सारिएको छ । 

 

‘हामीले अनावश्यक धेरै वाचा गरेका छैनौँ, बढी काम गरेर जनतालाई विकासको अनुभूति गराउनु नै हाम्रो एकमात्र लक्ष्य हो,’ बुटवल उपमहानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बाबुराम भट्टराई भन्छन्, ‘५ वर्षमा मुख्य सात एजेन्डा पुरा गरेर बुटवलको विकास गरेर देखाउनेछौँ ।’

 

एमालेले बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने पहिलो एजेन्डा बनाएको छ । बुटवललाई लुम्बिनीको आर्थिक राजधानी बनाउन प्रदेश सरकारले समेत संकल्प गरेको छ । उपमहानगरले त्यसका लागि सहयोग गर्ने योजना एमालेको छ ।

 

आर्थिक राजधानी निर्माणको उद्देश्य सहयोग पु¥याउन उद्योग – व्यापार अनुकूल वातावरण बनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनका अपार सम्भावनालाई उजागर गर्ने तथा सोही अनुरूपका पूर्वाधार निर्माण गर्ने योजना एमालेको छ । साथै निर्यातमुखी उद्योग स्थापनालाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउने दाबी समेत उनको छ ।

 

दोस्रो एजेन्डामा बुटवलको ऐतिहासिक र पुरातात्त्विक महत्त्वलाई उजागर र संरक्षण गर्दै पुरानो बटौलीलाई परम्परागत बजारको रूपमा स्थापित गर्ने योजना रहेको छ ।

 

‘पुरानो बुटवललाई ऐतिहासिक सम्पदा बस्तीको रूपमा विकास गरेर पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न सकिन्छ,’ एमालेबाट उपमेयर उम्मेदवार साबित्रादेवी अर्याल भन्छिन्, ‘अंग्रेज हारेको जितगढी किल्ला र मणिमुकुन्द सेनको शीतकालीन दरबार पुरातात्त्विक महत्त्वका छन् । यसको विकास, संरक्षण र सम्बर्धनका लागि भएका प्रयासलाई थप व्यवस्थित बनाउनु पर्छ ।’

 

जितगढी किल्लाको डीपीआर तयार भइसकेकाले त्यसलाई कार्यान्वयन तहमा लगेर १ करोड १० लाख वर्ष पुरानो मानव अवशेषका तथ्यहरूलाई स्थापित गरेर बुटवलको पहिचान बढाउन सकिने अर्यालले बताइन् ।

 

एमालेले तेस्रो एजेन्डामा बसाई सराइलाई व्यवस्थित बनाउनुका साथै बढ्दो जनघनत्वसँगै आधारभूत आवश्यकताका विषयमा योजनाबद्ध रूपमा काम गर्ने योजना छ । 

 

बुटवललाई विकासको मानक बनाउने चौथो एजेन्डा एमालेले सार्वजनिक गरेको छ । देशको तेस्रो ठुलो सहरका रूपमा परिचय बनाइसकेको बुटवललाई आधुनिक र अन्तर्राष्ट्रियकरण सहर बनाउने दायित्व काँधमा बोकेको दाबी एमालेका उम्मेदवारहरूको छ ।

 

सुकुम्वासी, अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने एजेन्डा पनि एमालेको छ ।

 

सीप, योग्यता र क्षमता भएका व्यक्तिलाई बिदेसिनबाट रोक्न स्वदेश मै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य पनि लिइएको छ । 

 

रुपन्देही जिल्ला गौतमबुद्धको पवित्र जन्मभूमि हो । अन्तर्राष्ट्रिय विमानस्थल समेत निर्माण भइसकेकाले थप अवसर सिर्जना हुने हुँदा त्यसबाट बुटवललाई फाइदा पुग्ने योजनाहरू अघि सारिने मेयरका उम्मेदवार भट्टराई बताउँछन् ।