close

आज अक्षय तृतीया र ईदउल फित्र पर्व

आज अक्षय तृतीया र ईदउल फित्र पर्व

Trulli
ADVERTISEMENT

काठमाडौं । आज हिन्दु र मुस्लिम समुदायको दुई पर्व एकैदिन परेको छ । नेपालको संविधानले नै जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको एउटै मालामा गाँसेर समान अवसर प्रदान छ । फरक फरक पर्व एकैदिन पर्नु राष्ट्रियताको सन्देश र यसले थप आपसी समझदारीमा टेवा पुग्ने बताइएको छ । 


यी फरक फरक धार्मिक आस्थाका समुदायले मनाउने दुई पर्व फरक भए पनि अक्षय तृतीया र ईदउल फित्र गरी दुवै पर्वमा दान दिने पर्वको रुपमा चिनिन्छ । अक्षय तृतीयामा गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । ईदउल फित्रमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको छ । 


वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।


यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो । 


गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई बताउछन् । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ । कोरोना भाइरस (कोभिड १९) को जोखिम पूर्णरूपमा अन्त्य नभइसकेकाले सातु र सर्वतले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।


सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।


त्यस्तै, अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन् ।


दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।


खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिए । नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो ।


यो पर्वमा दीनदुःखी र गरिबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्व अध्यक्ष निर्दोष अलीले जानकारी दिए । 


यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवं गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । ईदउल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।