close

‘पहिले सर्तनामामा हस्ताक्षर अनि मात्रै भोट’

‘पहिले सर्तनामामा हस्ताक्षर अनि मात्रै भोट’

Trulli
ADVERTISEMENT

पोखरा । पोखरा महानगरपालिकाका मतदाता मध्ये झन्डै ३५ हजार त सुकुम्बासी छन् । पोखराका सुकुम्बासी मतदाता एकताबद्ध हुने हो भने उनीहरुको भोटले नै यहाँका उम्मेदवारहरुको भविष्यको निर्णायक फैसला गर्न सक्छ । 

 

पोखरा महानगरपालिकाको १४ नम्बर वडामा मात्रै झन्डै ४ हजार मतदाता सुकुम्बासी जीवन बिताइ रहेका छन् । अहिले उनीहरुले ‘पहिले लालपुर्जा, त्यसपछि भोट’ अभियान नै चलाएका छन् । उनीहरुले तयार पारेको सम्झौतापत्रमा हस्ताक्षर गर्नेलाई नै भोट हाल्ने उनीहरु बताउँछन् ।

 

११ वटा सुकुम्बासी टोल रहेको वडा नं. १४ मा कुल ८ हजार १ सय ६६ मतदाता रहेका छन् जसमा झन्डै ४ हजार मतदाता त सुकुम्बासी मतदाता रहेको सुकुम्बासी संघका अध्यक्ष खड्गबहादुर विश्वकर्मा बताउँछन् । 

 

पोखरा १४ को ११ वटा सुकुम्बासी टोलले संयुक्त रुपमा यो सर्त अघि सारेका हुन् । जसमा प्रगति टोल संस्था रातोडाँडा, विजयपुर बस्ती, सेती दोभान बस्ती, शुभकामना टोल, सैनिक तारा टोल, सेती खोला, गैरे गाउँ, तल्लो शान्ति टोल, उपल्लो शान्ति टोल, तल्लो काजीपोखरी टोल र प्रगति टोल विकास संस्था काजीपोखरी छन् । विगतका चुनावको समयमा आश्वासनमा फसेका कारण यसपाली मेयर, उपमेयर, वडाध्यक्षसहित सदस्यले हस्ताक्षरसहित सम्झौता गरे मात्रै मत दिने संघका अध्यक्ष विश्वकर्माको भनाइ छ । 

 

‘हामी यो पार्टी त्यो पार्टी केही भन्दैनौं, सबैप्रति हाम्रो सम्मान छ,’ उनले भने, ‘तर घरदैलोमा आउने सबै दलका उम्मेदवारलाई सर्तमानामा हस्ताक्षर गराउने ११ वटै टोलका हामी सुकुम्बासीले सहमति गरेका छौँ ।’

 

विगतमा आफूहरूलाई राजनीतिक दलको ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गरिएको हुँदा अहिले सर्तसहित अगाडि आउनु परेको अध्यक्ष विश्वकर्माको भनाइ छ । सुकुम्बासीको हकहितका लागि काम गर्ने भन्दै खोलिएको संस्थाहरु कानूनी रुपमा वैध छैनन् । तर, निर्वाचनमा उम्मेदवारलाई गलाउने मनसायसहित उनीहरु एताबद्ध भएका हुन् । साथै यो अभियानमा पोखरामा बसोबास गर्दै आइरहेका अधिकांश सुकुम्बासीको समर्थन रहेको छ । 

 

पोखरा १४ बाट सुरु गरिएको ‘सर्तनामा हस्ताक्षर अभियान’ स्थानीय तहको निर्वाचनमा कास्कीका सबै वडामा तथा त्यसपछि नेपालभर लैजाने संघको योजना रहेको छ । 

 

निर्वाचनकै समयमा हस्ताक्षर गराएर एकप्रति आफूहरूले राखेपछि आफ्नो हकहितका लागि सहज हुने अध्यक्ष विश्वकर्माको भनाइ छ । ‘वैशाख ३० गते हुने निर्वाचनमा सबै नेताहरूले यो सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्छ, नगर्नेले हाम्रो भोट पाउँदैनन्’ उनको चेतावनी छ ।