close

छापियो सबै मतपत्र, शुक्रबार ढुवानी सम्पन्न हुने

छापियो सबै मतपत्र, शुक्रबार ढुवानी सम्पन्न हुने

Trulli
ADVERTISEMENT

काठमाडौँ । निर्वाचन आयोगले यही ३० वैशाखमा हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आवश्यक सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको छ ।

 

आज बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोलि २३ वैशाखसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी समेत दिएका छन् ।

 

उनले ३० वैशाखमा देशभर एकै चरणमा हुने स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएको स्थानबाट फेरबदल नगरिने समेत बताए। उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको उनले बताए।

 

प्रवक्ता पौडेलले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको पनि जानकारी गराए।

 

त्यस्तै उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले लिखित जवाफ पेस गर्न आदेश दिएको बताए। त्यस्तै अन्य विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारहरूलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण दिन आदेश दिएको छ।

 

यस्तै निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई निर्वाचन आचारसंहिता २०७८ प्रतिकुल हुने गरी अभिव्यक्ति दिएकोले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ ।

 

यस्तै रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले नेपाल कम्युनिस्ट पार्टी एमालेको उम्मेदवारको प्रचार–प्रसारमा खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएको भन्दै आयोगले २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण दिन भनेको छ।

 

निर्वाचन आयोगबाट हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधेको छ।