close

जिम्बावे सामु नेपाल निरीह, पहिलो खेलमा लज्जास्पद हार

जिम्बावे सामु नेपाल निरीह, पहिलो खेलमा लज्जास्पद हार

Trulli
ADVERTISEMENT

काठमाडौँ । जिम्बोवे ए विरुद्ध पहिलो एक दिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ३७ रनको झिनो लक्ष्य जिम्बावेले २६ ओभर मै ७ विकेट गुमाएर पूरा गर्‍यो ।

 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले पाली सम्हाल्दै अविजित सर्वाधिक ४८ रन बनाए । ४८ बलमा उनले चार चौका र एक छक्का प्रहार गरे ।

 

अर्का ओपनर सेफास जुवायो ३२ रन बनाए । रे काईयाले १४ रन जोडे । ब्राड ईभान्सले एक चौका र दुई छक्का मद्दतमा अविजित १७ रन बनाए ।

 

ब्राडले २६औँ ओभरमा सुशन भारीलाई दुई छक्का र एक चौका प्रहार गर्दै जित पक्का गरेका थिए ।

 

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रनको योगफल खडा गरेको थियो ।

 

जिम्बावेका बलरको सामु नेपाली ब्याट्सम्यान निरीह देखिएका थिए । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । उनले ७० बल खेल्दा २ चौका र १ छक्का प्रहार गरे ।

 

करण केसीले ३६ बल खेल्दै ३ चौका मद्दतमा २५ रन बनाए । सोमपाल र करणले आठौँ विकेटका लागि ३७ रनको साझेदारी गरे ।

 

ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए । पहिलो ओभरमै ३ चौकासहित १४ रन जोडेका कुशलले १० बल खेल्दै कुल चार चौका प्रहार गरे । दीपेन्द्रले २० बल खेल्दै ३ चौका प्रहार गरे ।

 

जिम्बावेका ब्राड एभान्सले सर्वाधिक ४ विकेट लिए । यस्तै भिक्टोर न्याउची, ब्राण्डन मभुता र सेफास जुवायो २–२ विकेट लिए ।