close

जजिरा भैरहवामा व्यवसायिक उडान भर्ने पहिलो वायु सेवा बन्दै

विमान सोमबार बिहान भैरहवा आइपुग्ने

जजिरा भैरहवामा व्यवसायिक उडान भर्ने पहिलो वायु सेवा बन्दै

विमान सोमबार बिहान भैरहवा आइपुग्ने

Trulli
ADVERTISEMENT

काठमाडौँ । कुवेतको जजिरा एयरवेज नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने पहिलो व्यावसायिक विमान कम्पनी बन्ने भएको छ।

 

जजिरा एयरवेजले आगामी जेठ २ गते, बुद्ध पूर्णिमाका दिनदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा सुरु गर्ने लागेको हो। साथै नेपालको दुई गन्तव्यमा सीधा उडान भर्ने जजिरा एयरवेज नै पहिलो विमान सेवा समेत बन्नेछ ।

 

यसअघि सन् २०१९ को नोभेम्बरदेखि सो विमान कम्पनीले कुवेत र नेपालबिच सिधा हवाई सेवा दिँदै आएको छ। कुवेतस्थित नेपाली दूतावासले जनाए अनुसार सिधा हवाई सेवा सञ्चालन भएपछि मध्यपूर्वमा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने उल्लेख छ।

 

वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि खाडी मुलुक प्रवेश गर्ने नेपालीका लागि सहज तथा सुविधाजनक हवाई यात्रा हुने समेत दूतावासको विश्वास छ।

 

सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकका लागिसमेत थप सहज हुने दूतावासले जनाएको छ।

 

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको जहाज जेठ २ गते बिहान आइपुग्ने सो विमान सेवाले जानकारी दिएको छ।

 

सो एयरवेजले उडान तालिका सार्वजनिक गर्दै कुवेतबाट स्थानीय समयअनुसार साँझ साढे ६ बजे उडेको विमान जेठ २ गते बिहान १ बजेर ४५ मिनेट जाँदा भैरहवा आइपुग्ने छ।

 

सो जहाज सोही दिन बिहान साढे २ बजे कुवेतका लागि उड्ने गर्नेछ। जजिराले हरेक आइतबार, मंगलबार, बिहीबार कुवेतबाट भैरहवाका लागि उडान भर्नेछ। यस्तै सोमबार, बुधबार र शुक्रबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर फर्कने छ।