close

निर्वाचन सुरक्षामा खटिएका प्रहरीले नै कुटे मतदान अधिकृत, म्यादी प्रहरी र गाउँले

निर्वाचन सुरक्षामा खटिएका प्रहरीले नै कुटे मतदान अधिकृत, म्यादी प्रहरी र गाउँले

Trulli
ADVERTISEMENT

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा निर्वाचन सुरक्षा खटिएका एक प्रहरीले नै मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् ।

 

नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत नीरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमलासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन् ।

 

मदिरा सेवन गरेका वरिष्ठ सई भट्ट बुधबार राति ११ बजेतिर धनबोट गाउँ गएका थिए । स्थानीयको घरभित्र पसेर हतियार देखाउँदै उनीहरूलाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।

 

म्यादी प्रहरी र प्रहरी मिलेर उनलाई गाउँलेबाट उद्धार गरेर मतदान अधिकृतलगायतको टोली बसेको घरमा राखिएको थियो । साथै उनले बोकेको पेस्तोल अरू प्रहरीले खोसेका थिए । भट्टको कुटाइबाट मतदान अधिकृतसहित केही म्यादी र स्थानीय सामान्य घाइते भएका छन् ।

 

मतदान अधिकृत झाका अनुसार बुधबार राति ११ देखि बिहान ६ बजेसम्म भट्टले आफूसहित सहायक मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको बताए ।

 

‘मदिरा सेवन गरेर सुरुमा मतदान स्थल नजिकैको गाउँमा गएर गाउँलेलाई कुटपिट गरेछन्,’ झाले भने, ‘त्यहाँबाट प्रहरीले उद्धार गरेर हामी सुतिरहेको घरमा ल्याएपछि हामीमाथि नै कुटपिट भयो ।’

 

मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गर्ने वरिष्ठ सई भट्टलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।