close

छिन्नमस्तामा आगलागी, ६ घरमा क्षति

छिन्नमस्तामा आगलागी, ६ घरमा क्षति

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ लोखरम भटोत्तरमा शुक्रबार बिहान आगलागी हुँदा ६ वटा घरमा क्षति पुगेको छ । आगलागीका कारण महेन्द्र कामैत, शंकर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

 

आगलागीबाट गाउँ बस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काउनुपरेको छिन्नमस्ता गाउँपालिका–५ का वडाध्यक्ष जयप्रकाश ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार गुहाली घरबाट सल्केको आगो बिहान ३ बजे महेन्द्रले थाहा पाएर गुहार मागेपछि करिब तीन घण्टाको प्रयासमा स्थानीयले आगो नियन्त्रणमा लिएका हुन्।

 

चौपायालाई लामखुट्टेबाट जोगाउन बालिएको घुरबाट आगो सल्किएको स्थानीय जानकारी दिए । आगलागीबाट मानवीय क्षति नभए पनि दुई खसी र दुई बाख्रा जलेर मरेका छन् ।

 

आगलागीका कारण ती परिवारको घर र गोठसहित लत्ताकपडा, फर्निचर, अन्नपात, भाँडाकुँडा जल्दा २३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। वारुणयन्त्र पुग्ने बाटो नभएकाले बढी क्षति भएको स्थानीयले जानकारी दिएका छन् ।