close

दुर्घटनाग्रस्त  तारा एयरको विमानको ब्ल्याकबक्स भेटियो

उद्दारमा खटिएका सबै फिर्ता

दुर्घटनाग्रस्त  तारा एयरको विमानको ब्ल्याकबक्स भेटियो

उद्दारमा खटिएका सबै फिर्ता

Trulli
ADVERTISEMENT

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा गत आइतबार तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शवसँगै विमानको ब्ल्याकबक्स पनि भेटिएको छ ।

 

विमानको ब्ल्याकबक्स र सबै यात्रुको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पुष्टि गरेका हुन् । १० जनाको शव सोमबार नै काठमाडौँ ल्याइसकिएको छ भने बाँकी शव आज घटनास्थलबाट कोवाङमा झारिएको छ । बाँकी १२ जनाको शव आजै काठमाडौँ ल्याइने तयारी भइरहेको छ ।

 

दुर्घटना स्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटना स्थलमा भेटिएका महत्त्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएका छन् ।

 

तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९–एनएइटी विमान त्यसको १२ मिनेटपछि नै दुर्घटनामा परेको थियो । सो जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

 

भौगोलिक रूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले ४ हजार २ सय मिटर उचाइको भीरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ।